कुनै पनि वस्तु तथा सेवाको कारोबार हुनु साधारण प्रक्रिया हो भने कुनै पनि देशको वस्तु तथा सेवा अर्काे देशसँग आयात तथा निर्यात गर्नु स्वभाविक प्रक्रिया हो ।

नेपाल भूपेरिवेष्ठित देश हो । नेपाल गरिब होइन, बरु गरिब बुद्धि भएका निश्चित व्यक्तिहरूले देशलाई गरिब बनाएको देखिन्छ । नेपालको इतिहासमा करिब २ सय ५० वर्ष अगाडिसम्म यो देश यस्तो गरिब देश थिएन । पछिल्लो कालमा पश्चिमी मुलुक, पूर्र्वीय मुलुक र एशियाली देशहरूले ठूलो भौतिक विकास गरे तर, नेपाल नियोजित तवरले आवश्यकीय विकासको पूर्वाधारदेखि विमुख बन्दै गयो । तथ्याङ्कअनुसार त्यसको परिणाम आज संसारमा भएका देशहरूमध्ये नेपाल एक प्रमुख गरिब मुलुक भनेर परिचित छ भने अर्कोतिर भ्रष्टाचार मौलाएको देश भनेर पनि चिनिन्छ ।

नेपालमा लामो समयदेखि पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धिबारे विरोध र अन्तरक्रिया हुँदै आइरहेको छ । यसको समाधान गर्न जटिल पनि छ । यो वस्तु छिमेकी देश भारतसँग आयात गरिन्छ । तत्कालीन अवस्थामा नेपाललाई पेट्रोलियम पदार्थ र ग्यासरहित बनाउने अबस्था देखिँदैन । सन् १९७० को दशकताका पनि विश्वव्यापी पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा चरम् वृद्धि भएको थियो । त्यो समयमा ओपेकलाई धौ धौ भएको थियो, मूल्य र सेवाको नियन्त्रण र समायोजन गर्नको लागि ।

पछिल्लो समयमा युक्रेनमाथि रुसको आक्रमण भयो, त्यो मितिदेखि विश्वभर प्राइस हाइक (मूल्य वृद्धि) भयो । सबै देशमा बिक्री वितरण र आयात तथा निर्यात गर्न कठिन बन्दै गयो । युक्रेनमाथि आक्रमण भएपछि प्रतिब्यारेल कच्चा तेलको मूल्य अमेरिकी डलर ४ हजार १ सय १७ पुगेको छ  । अन्तर्राष्ट्रिय तथ्याङ्क हेर्दा, दुई वर्षको मूल्य वृद्धि करिब ५ गुणाले बढेको छ । नेपालमा तेल तथा इन्धनको आयात र बिक्रीवितरण नेपाल आयल निगमले भारतीय आयल निगमसँग मात्र गर्छ, जब अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तलमाथि हुन्छ, तब भारतीय आयल निगमले अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँछ । त्यसपछि फेरि नेपालमा नयाँ मूल्य समायोजन गरी बिक्री वितरण गरिन्छ ।

इन्डियन आयल कर्पाेरेसनसँग नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यको आधारमा खरिद गर्नुपर्ने दुई देशबीच सम्झौता छ । भारतमा अहिले पेट्रोल प्रतिलिटर भूगोल तथा स्थान हेरेर भा.रु. ९५.२ देखि १०८.६ मूल्यमा र डिजेल भा.रु. ८७.७ देखि ९६.२० सम्ममा बिक्रीवितरण भएको पाइन्छ । नेपालमा पनि स्थान हेरेर पेट्रोल र डिजेलको मूल्य फरक रहेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ (तेस्रो संशोधन) अनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री वितरण मूल्य परल मूल्य बमोजिम एक महिनामा २ पटकसम्म मात्र समायोजन गर्न सकिन्छ ।

नेपाल सरकारले प्रतिलिटर पेट्रोल रु. ४२.७३, डिजेलमा रु. २६.१५, मट्टीतेलमा रु. २.८८, हवाई इन्धनमा आन्तरिकतिर रु. २१.५० र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. २०३.२४ आयात कर भन्सार नाकामै असुली गर्छ । सरकारले यसबाहेक मूल्य अभिवृद्वि कर , मट्टीतेलमा बाहेक, पूर्वाधार विकास कर, भन्सार सेवा शुल्क, सडक मर्मत सम्भार शुल्क, वातावरण शुल्कलगायतका थप करहरू लगाउँछ । यसै क्रममा  पेट्रोलमा रु. ६३ प्रतिलिटर, डिजेलमा रु. ४५ प्रतिलिटर र ग्यासमा रु. ३ सय प्रतिसिलिण्डर कर सरकारले उठाउँछ ।

अर्कोतिर, ढुवानी भाडा तथा बिमा शुल्क पेट्रोलमा रु. ५ बढी र डिजेलमा रु. ३.५० भन्दा माथि लाग्छ । निगमको प्रशासनिक खर्चमा पेट्रोल तथा डिजेलमा रु. १ हाराहारीमा लाग्छ । प्रज्वलनशील पदार्थ भएकोले प्राविधिक नोक्सानी पेट्रोलमा ०.०८ पैसा र ०.४६ पैसा बराबर हुने गरेको छ । निगमको प्रोफिट मार्जिन पेट्रोलमा रु. ४.४९ र डिजेलमा रु. ३.४३ हुने गर्दछ । पेट्रोल र डिजेलमा परल मूल्यमा ५–१५ प्रतिशत र ग्यासमा २५ सम्म मुनाफा मार्जिन राख्ने प्रावधान छ । पेट्रोलियम पदार्थको बेस मूल्यको २ प्रतिशतसम्म तलमाथि अन्तर सीमामा रहने हुन्छ भने ग्यासको मूल्य अन्तर सीमाका मूल्यको रु. २५ सम्म घटीबढी गर्न सकिन्छ । यही नीतिअनुसार निगमले रिटेल मूल्य निर्धारण गर्दछ ।

निगमले फेरि बिहीबारबाट नयाँ मूल्य निर्धारण गरेको छ, जहाँ पेट्रोलमा प्रतिलिटर रु. १ सय ७८, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु. १ सय ६५ बनाएको छ । केही समय पहिला इन्धनको मूल्यमा प्रतिलिटर रु. १० घटाएको थियो । अहिले पनि निगमलाई १५ दिनभित्रको कारोबारमा ३ अर्ब १ करोड घाटा लागेको छ । भारत आयल निगमलाई नेपाल आयल निगमले २६ अर्ब तिर्न बाूँकी छ ।

त्यो बाहेक अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा निगमको घाटा ४७ अर्ब पुगिसकेको छ । यो घाटा आर्थिक वर्ष २०७८/०७९ सम्ममा ६० अर्ब पुग्न सक्ने देखिन्छ । अहिले निगमले मूल्यवृद्धि गर्दा पनि पेट्रोलबाट रु. २४.७०, डिजेलबाट रु १८ र खाना पकाउने ग्यासमा रु. ७ सय ५१ नोक्सान छ । निगमले बिहीबार तोकेको मूल्य अनुसार पनि आगामी १५ दिनमा करिब ३ अर्ब ४२ लाख घाटा हुने देखिन्छ । त्यसकारण पनि इन्धन मूल्य वृद्धिको विरोध औचित्यहीन देखिन्छ ।

निगमका अनुसार भारत आयल निगमसँग खरिद गर्दा पेट्रोल रु. २०२.७०, डिजेल रु. १८३.०२ र ग्यासको खरिद लागत रु. २,५५१.१५ छ । तर, अर्कोतिर निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा रु. १७.०१, आन्तरिक हवाई इन्धनमा रु. १७.३४ र वाह्य हवाई इन्धनमा रु. ६४.५५ मार्जिन राखेर व्यापार गरेको छ ।
[email protected]
(लेखकः कर्पोरेट हाउसमा कार्यरत हुनुहुन्छ ।)