धरान । अम्विकाकुमार सम्बाहाम्फेद्वारा लिखित लिम्बूका मौलिक संस्कारहरू सम्बन्धी पुस्तक ‘याक्थुङ येत्छाम खाजोङ्हा’ सार्वजनिक भएको छ ।

शनिबार किरात याक्थुङ चुम्लुङको सभाहलमा आयोजित एक कार्यक्रमबीच प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले पुस्तक सार्वजनिक गरे ।

लिम्बू समुदायमा मौलिक संस्कार गर्न जान्ने मान्छे घट्दै गएको सन्दर्भमा प्रकाशित यो पुस्तकले नयाँपुस्ताहरूलाई समेत लिम्बू संस्कार, संस्कृति बुझ्न र पालना गर्न सहज हुने बताए । उनले भने, ‘लिम्बू समुदायमा संस्कारहरू मौखिक रूपमा रहेकाले ठाउँ अनुसार फरक पर्ने र कतिपय हराउँदै जाने अवस्थामा छन् । यसरी पुस्तकका रूपमा आएपछि सबैका लागि सजिलो भएको छ ।’

कार्यक्रममा बोल्दै भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपानेले पनि सम्बाहाङ्फेको यो पुस्तकले प्राज्ञिक क्षेत्रमा समेत लिम्बू संस्कार बुझाउन महŒवपूर्ण भूमिका खेल्ने बताए । पुस्तकको बारेमा डा.रमेश लिम्बु र डा. कमल तिगेलाले टिप्पणी गरेका थिए । उनीहरुले यस्तो पुस्तक प्रकाशित हुनु सकारात्मक भएको भन्दै केही कुरामा द्विविधा भएकाले आगामी संस्करणमा सच्याउन सुझाव दिएका थिए । पुस्तकका बारेमा देवराज श्रेष्ठ, प्रेम सुब्बा, अमर बस्नेत लगायतले बोलेका थिए ।

पुस्तकमा जन्मनुअघि देखि मृत्युपछिसम्मका संस्कारहरूका बारेमा विस्तृत उल्लेख गरिएको छ । यो पुस्तक पाँच वर्षअघि नै लेखे पनि प्रकाशनमा आउन ढिलो भएको लेखक सम्बाहाम्फेले बताए । उनले लिम्बु समुदायमा थुम अनुसार संस्कार कार्यमा केही फरकपन देखिएकाले एकरुपता ल्याउन पुस्तक लेखेको बताए ।

पुस्तकको प्रकाशन किशोरकुमार लिम्बू (सम्बाहाम्फे)ले गरेका हुन् । बक्सिङ खेलका प्रशिक्षक तथा चलचित्र अभिनेता एवम् निर्मातासमेत रहेका सम्बाहाम्फेले लिम्बू संस्कारहरूलाई पुस्तकका रूपमा तयार भएपछि प्रकाशनमा ल्याएको बताए । उनले पुस्तकप्रति सबैले चासो देखाएकोमा उस्ताहित भएको बताए । सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समिति सुनसरीका अध्यक्ष शुकबहादुर सम्बाहाम्फेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।