धरान । चारो खाना छाडेको एकसाता नबित्दै धरान–१५ बगरकोटकी हिन्दु सम्बाहाम्फेको तीनवटा बङ्गुर एकपछि अर्को गर्दै मरे ।
खोरमा पालेको बङ्गुर मर्दा उनलाई यसैसाता मात्र करिब डेढलाख रुपैयाँ घाटा त भयो नै खोरमा रहेका अरू बङ्गुर कसरी बचाउने भन्ने चिन्ताले सताएको छ । उनले भनिन्, ‘बङ्गुर पालनमा लागेको खर्च पनि गयो । बेच्दा आउने नाफा पनि गयो । दशा नै लागेको रहेछ योपालि ।’ उनलाई जस्तै दशा धरान–५ माथिल्लो देउरालीका बङ्गुरपालक हर्कमाया मादेन र उनका श्रीमान् सुवास मादेनलाई पनि आइपरेको छ ।
करिब ३५ लाख रुपैयाँ लगानीमा आधा दशकअघि सुरु गरेको व्यावसायिक बङ्गुर पालनमा यो वर्ष घाटाको वर्ष भएको छ । ठूला–साना गरी एकसातामै दुई दर्जन बङ्गुर मरेपछि घाटा पूर्ति कसरी गर्ने भन्ने चिन्ताले मादेन दम्पतीलाई सताएको छ । कानून व्यवसायीसमेत रहेका सुवासले भने, ‘जेठ दोस्रो सातादेखि मङ्गलबारसम्ममा ५० किलोदेखि अढाईसय किलोसम्मका १० वटा बङ्गुर भटाभट मरे । पाठापाठीको त हिसाबै राखेको छैन ।’
‘मरेकामध्ये ३ वटा ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेका थियौं । कृषिक्षेत्रमा लागेर जीविका चलाउँला भनेर बङ्गुर फर्म दर्ता गरेर व्यावसायिक कृषि कर्म थालियो तर, यस्तो पनि दिन आउँदो रहेछ’–उनले दुःखेसो पोखे । उनका खोरमा भएका अरू ७० वटा बङ्गुर कसरी बचाउने भन्ने अर्को चिन्ता पनि थपिएको छ । पहिचान हुन नसकेको महामारीले बङ्गुर मर्ने क्रम जारी रहेको बेला कतिपय फर्म वा व्यक्तिगत खोरमा पालेका बंगुरहरु विरामी भएको थाहा पाएपछि हतार हतार मासु व्यवसायीलाई सस्तैमा बिक्री गर्ने गरेको सुन्नमा आए पनि पशुसेवा विभागले भने धरानमा त्यस्तो कुनै पनि हालतमा हुने नगरेको दाबी गरेको छ । धरान उपमहानगरपालिकाका पशु विकास अधिकृत महेन्द्र कुमार पैकराले भने, ‘फर्ममा मरेको बंगुरलाई पुर्ने गरेका छन् । विक्रि गरेको पाइएको छैन ।’
सम्बाहाम्फे र मादेनले पालेका बङ्गुर एकपछि अर्को गर्दै मरेजस्तै अहिले धरानका अधिकांश घर र फर्ममा पालिएका बङ्गुर धमाधम मरिरहेका छन् । तर, व्यावसायिक फर्म सञ्चालकहरूले भने बङ्गुर नमरेको बताइरहेका छन् । फर्ममा बङ्गुर मर्न थालेको जानकारी सार्वजनिक भएमा मासु व्यवसायी र उपभोक्ताहरूले बङ्गुरको मासु नकिन्ने र नखाने भएकाले बङ्गुर मरेको विषय लुकाउने गरेको एक फर्म सञ्चालकले बताए । धरानका घर र व्यावसायिक फर्ममा पालिएका बङ्गुर मर्न थालेको गत वैशाखदेखि नै हो । हालसम्म उपमहानगरपालिकाको पशुसेवा विभागले भने कुनै ल्याव परीक्षण गरेको छैन । विभागसँग धरानभरि यो दुई महिनाको अवधिमा कति लाख रुपैयाँ बराबरको बङ्गुर मरे भन्ने कुनै तथ्याङ्कसमेत छैन ।
अधिकांश बङ्गुर फर्म सञ्चालकहरूले अफ्रिकन स्वाइन फ्लुले बङ्गुर मरिरहेको बताइरहेका छन् । तर, धरान उपमहानरपालिकाका पशु विकास अधिकृत महेन्द्र पैकरा र पशुचिकित्सक डा.वृखराज राई अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमण धरानमा नफैलिएको दाबी गर्दै क्लासिकल स्वाइन फिवरले एक–दुईवटा मात्र मरेको बताएका छन् । पशु सेवा विभागमा दुई सातायता धरानमा बढीमा १६ वटा बङ्गुर मरेको तथ्याङ्क छ । पैकराले भने, ‘धरान उपमहानगरका पूर्व मेयर तिलक राईको घरमा पालेको ४, देउरालीका दुर्गा राईको २, सिमलचोकका रवि राईको २ र अन्यका गरी करिब १६ वटा मरेको जानकारी हामीलाई प्राप्त भएको छ ।’
धरानमा बङ्गुर मर्ने क्रम जारी रहे पनि कुन रोगले मरेको हो, पशु सेवा विभागले थाहा पाउन सकेको छैन । रोकथामका लागि गर्नुपर्ने उपाय पनि सुझाउन सकेको छैन । पैकराले भने, ‘हाल मरेका बङ्गुरको लक्षण हेर्दा ज्वरो आउने, चारो नखाने, छेर्ने, वान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातदेखि दश दिनमा मर्ने गरेको छ ।’ मरेकामध्ये ८० प्रतिशत बङ्गुर भ्याक्सिन नलगाएको पाइएको पनि पैकराले बताए । डा.राईले भने अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमण फैलँदा पूरै बङ्गुर सखाप हुने बताए । उनले भने, ‘धरानमा छिटपुट देखिएको सङ्क्रमण क्लासिकल स्वाइन फिवर हुनसक्छ ।’
काठमाडौंमा हालै मात्र अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमण बङ्गुरमा फैलिएको पुष्टि भए पनि धरानमा दुईटा बङ्गुरको र्यापिड टेष्ट गर्दा अफ्रिकन स्वाइन फ्लु नेगेटिभ पाएको डा. राईले बताए । उनले विस्तृत ल्याव टेष्टका लागि काठमाडौं नै पठाउनु पर्ने बताए ।
धरानमा ठूला–साना फर्म गरेर करिब सयभन्दा बढी व्यावसायिक बङ्गुर फर्म छन् । पैकराको तथ्यलाई मान्ने हो भने धरानभरिमा ४० हजार बङ्गुरपालन हुन्छ । ती बङ्गुर मासुको प्रयोजनका लागि पालिने गरिएको छ । धरानबाट बङ्गुर निकासी विभिन्न जिल्लामा हुने गरेको छ ।
धरानबाट ओखलढुङ्गा, धनगढी, काठमाडौं, ललितपुर, वीरगञ्ज, ताप्लेजुङ, बारा, पर्सादेखि मासुको प्रयोजनका लागि निकासी हुने गरेको छ । डा. राईका अनुसार धरानबाट भारतको सिलिगुडी र सिक्किममा समेत निर्यात हुने गरेको छ । उनले भने, ‘एकसातामा करिब सात गाडी (करिब सयवटा बङ्गुर) मासुको प्रयोजनका लागि धरानबाहिर निकासी हुने गरेको छ ।’ पाठापाठी मात्र एकसातामा पाँचसय जति बाहिरका व्यापारीहरूले खरिद गर्ने गरेका छन् ।’ धरानमै दैनिक २ सयवटा बङ्गुर (१० हजार किलो) खपत हुने गरेको छ ।’