धरान । धरान–४ छोटीमोरङस्थित सूर्योदय बुद्ध विहार धार्मिक वनमा ४० फिटको बुद्धको प्रतिमा स्थापना गरिएको छ । बुद्ध प्रतिमाको अनावरण प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले एक औपचारिक समारोहका बीच गरेका थिए ।
बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले धरान र भेडेटारको बीचमा पर्ने छोटी मोरङको डाँडामा निर्माण भएको ४० फिट अग्लो बुद्धको प्रतिमाले धरान र भेडेटारको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘पहिले बुद्धलाई ‘लाइट अफ एसिया’ मात्र भनिदै आएको थियो । अहिले आएर ‘लाइट अफ वल्र्ड’ भनेर संसारले स्वीकार्न थालेको छ । यही डाँडाको अर्को थुम्कोमा थाउजेण्ड बिग बुद्ध भनेर १ सय ७५ फिट अग्लो बुद्धको प्रतिमा स्थापनाका लागि डीपीआर पनि तयार हुँदै रहेछ । त्यो प्रतिमा पनि निर्माण सम्पन्न गर्नसके धरान र भेडेटारको पर्यटन प्रवद्र्धनमात्र नभएर समग्र नेपालकै पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
सूर्योदय बुद्धविहार धार्मिक वनले विभिन्न दाता जुटाएर करिब ३५ लाख रुपैयाँ लागतमा निर्माण गरेको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनको सुरुवात गरेको प्रमुख खापुङले बताए ।
सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेद्याङ्कर स्थवीरले सरकारले ०७४ साउन १६ गते १०.२० हेक्टर जमिन सूर्याेदय बुद्धविहार धार्मिक वनको रूपमा प्रयोग गर्न उपलब्ध गराएपछि बौद्ध धार्मिक उपासक, ध्यानप्रेमी र अन्य आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले करिब ३५ लाख रुपैयाँ लागतमा बुद्धको प्रतिमा स्थापना गरिएको बताए । उनले सरकारले धार्मिक वन घेराबारा गर्न ८० लाख रुपैयाँ पनि दिएको बताए ।
तत्कालीन हङ्कङ नेपाली महासङ्घका अध्यक्ष प्रदीप थापा र भिक्षु मेद्याङ्करले छोटीमोरङको थुम्की डाँडामा हङ्कङको लान्ताउ टापुको ङोङ्पिङमा स्थापना गरिएको ३४ मिटर (१ सय १२ फिट) अग्लो बुद्धको कास्य प्रतिमाको मोडललाई आधार बनाएका थिए । मेद्याङ्करले भने, ‘यो दशवर्ष अघिको कल्पना थियो । अहिले ४० फिटको बुद्ध प्रतिमा स्थापना भएको छ । अबको १० वर्षमा नेपालमै सबैभन्दा अग्लो १ सय ७५ फिट अग्लो बुद्ध प्रतिमा राख्न डीपीआर तयार हुँदैछ ।’
हङ्कङ नेपाली महासङ्घका पूर्वअध्यक्षसमेत रहेका बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष प्रदीप थापाले सरकारले वन मन्त्रालयसँग बुझेर मन्त्रिपरिषद् बैठकमार्फत् जग्गा उपलब्ध गराएकोमा धन्यवाद दिँदै दोस्रो चरणमा करिब सवा अर्ब रुपैयाँ लागतको विशाल अग्लो बुद्धप्रतिमा राख्ने कार्यमा जुटेको बताए ।
उनले विग बुद्धको प्रतिमा तयार भएमा हङ्कङको भन्दा ६६ फुट अग्लो हुने र निर्माण सम्पन्न भएसँगै बौद्ध अध्ययन केन्द्र पनि सञ्चालन गर्ने बताए । उनले भने, ‘बुद्ध नेपालको लुम्बिनीमा जन्मिए । विश्वले ज्ञान पायो । आज विश्वका विभिन्न मुलुकमध्ये चिन, कोरिया, जापान, हङ्कङ, थाइल्याण्ड, बर्माजस्ता मुलुक बुद्धकै प्रतिमा स्थापना गरेर लाखौं आन्तरिक र बाह्य पर्यटक भिœयाएर अर्बौं आम्दानी गरिरहेको छ । हामीले पनि नेपालमै बुद्धको प्रतिमा स्थापना गरेर पर्यटन प्रवद्र्धन गर्न सक्छौं भनेर यो योजना अघि सारेका हौं ।’
उनकाअनुसार हङ्कङको लान्ताउ टापुमा रहेको बिग बुद्धको प्रतिमा हेर्न मात्र पनि दैनिक बीसौंहजार पर्यटकहरू विश्वभरिबाट आउने गरेका छन् । हङ्कङ, थाइल्याण्ड, कोरिया, जापान, बर्मा र भारतगायतका बौद्ध मार्गीहरू र अन्य पर्यटकका लागि धरानको छोटीमोरङमा सबैभन्दा अग्लो बिग बुद्धको प्रतिमा बनाएर आकर्षणको केन्द्र बनाउने र धरानलाई पर्यटकीय ‘हब’ को रूपमा विकास गर्नु मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।
मुख्य प्रतिमाका लागि कन्सल्टेन्ट लि. कवुर्सियर्सले डीपीआर डिजाइन तयार गरिरहेको छ । एक महिनाभित्रमा डीपीआर तयार गरेपछि स्थानीय तहमा गर्नुपर्ने गुरुयोजना, आर्थिक सङ्कलन, निर्माण व्यवस्थापनका लागि तत्कालीन धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बासँग सम्झौता गरिएकोबारे अब नयाँ जनप्रतिनिधिहरू र प्रमुखलाई जानकारी दिन बाँकी रहेको बताए ।
बुद्धप्रतिमा अनावरणमा धरानका प्रमुख हर्कराज राईलाई निमन्त्रणा दिए पनि समारोहमा भने अनुपस्थित थिए । थाउजेण्ड बिग बुद्ध प्रतिमा स्थापनाका लागि तत्कालीन सभामुख ओनसरी घर्ती मगर र थाइल्याण्डबाट आएका राजगुरु नासोभनले संयुक्तरूपमा शिलान्याससमेत गरिसकेका छन् । निर्माणस्थलको माटो परीक्षण, वातावरण प्रभाव मूल्याङ्कनको काम सकिएको थापाले बताए ।