विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।
शनिबार भएको कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत रहेको काङ्ग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन् । काङ्ग्रेस नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको काङ्ग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बूढीगङ्गा गाउँपालिकामा एकल बहुमतमा रहेको काङ्ग्रेसका उम्मेदवारहरू कार्यपालिका निर्वाचनमा पराजित भएका थिए ।
महानगरमा एमालेले उपप्रमुखसहित ४३ र काङ्ग्रेसले प्रमुखसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । शनिबार भएको कार्यपालिका चुनावमा काङ्ग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो । तर, जसपा र काङ्ग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा काङ्ग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसङ्ख्यकतर्फ एमालेका दीपककुमार कर्णले ५२, स्वतन्त्र ओमप्रकाशकुमार साहले ५५ र स्वतन्त्र सञ्जीब साहले ५२ मत ल्याएर विजयी भएका छन् । अल्पसङ्ख्यकमा काङ्ग्रेस उम्मेदवार प्रेम राठीले ४०, जसपाका ववितादेवी साहले ४५ र जसपाकै विमलादेवी पोद्दारले ४१ मत प्राप्त गरेका थिए ।
महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वासले ५५ कमला श्रेष्ठले, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपालले ५३ र खुश्बु विश्वकर्माले ५२ मत ल्याएर विजयी भएका छन् । काङ्ग्रेसका पराजित उम्मेदवारहरू अञ्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रूपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवी साहले ४० मत मात्रै पाएका थिए ।
विराटनगरमा गठबन्धन उम्मेदवारलाई चुनावअघि जसपा त्यागेर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले सघाएका थिए । यादवकै पहलमा जसपाका अधिकांश जनप्रतिनिधिले एमालेलाई मत दिएको पाइएको छ ।
गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । प्रमुख, उपप्रमुख, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचित ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपप्रमुख, ९ वडाध्यक्षसहित १६ जना भएका छन् । कार्यपालिकामा काङ्ग्रेसका प्रमुखसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्यक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।