विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण गरेपछि उनीहरूले सोमबार पदभार सम्हालेका हुन् ।

पदभार ग्रहणपछि कोइरालाले राजस्व परामर्श समिति गठन गरेर कर पुनरावलोकन गर्ने र उपप्रमुख कार्कीले लैङ्गिक हिंसा निवारण कोष बनाउने निर्णय गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ । निर्वाचनमा करको दर घटाउने र दायरा बढाउने प्रतिबद्धता गरेका कोइरालाले पहिलो निर्णय दर घटाउने र दायरा बढाउनका परामर्श समिति गठन गरेका हुन् ।

जनतासँग गरेको प्रतिबद्धता अनुसार करको दायरा घटाउनका लागि समिति गठन गर्ने निर्णय गरेको उनले बताए । मेयर कोइरालाले महानगरको विकासका लागि सबैसँग समन्वय गरेर काम गर्ने बताए ।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपमेयरको संयोजकत्वमा हुनेछ । प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य, निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुने प्रावधान छ ।

आगामी नगरसभामा समितिले सुझाव पेश गर्नुपर्ने भएकाले तत्काल काम सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए । उपप्रमुख कार्कीले लैङ्गिक हिंसा निवारण कोष बनाउने निर्णयमा गरेकी हुन् । लैङ्गिक हिंसामा परेकाहरूको तत्काल उद्धार र राहतका लागि महानगरमा कोष छैन । कोष बनेपछि महानगरले कोषबाटै हिंसा पीडित महिलाको उद्धार र राहतमा सहयोग गर्नेछ । कोइराला नेपाली काङ्ग्रेस र कार्की नेकपा (एमाले)बाट निर्वाचित भएका थिए ।

यसैगरी मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि अध्यक्ष चौधरीले कटहरी गाउँपालिका–६ मा रहेको बर्थिङ सेन्टरमा ल्याव सञ्चालन गर्ने निर्णय गरेका छन् । साउन १ गते बर्थिङ सेन्टरमा ल्याव सञ्चालन गर्ने निर्णयमा अध्यक्ष चौधरीले हस्ताक्षर गरेका हुन् ।

पदभार ग्रहणपछि अध्यक्ष चौधरीले  अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी कटहरीको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनको समयमा मतदाताको घरदैलोमा जाँदा गरेका वाचा र योजनाहरू आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै कटहरीका भूमिहीन सुकुम्बासीहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षमा चौधरी नेपाली काङ्ग्रेस र उपाध्यक्ष राजवंशी नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् । चौधरीले ६ हजार ५ सय ६५ र राजवंशीले ५ हजार ८ सय ४८ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । अध्यक्ष चौधरीलाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालले सपथ गराएपछि उनले उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई कटहरी गाउँपालिका भवनमा सपथ खुवाएका थिए ।