धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

स्वतन्त्र पदबाट प्रमुखमा निर्वाचित हर्कराज साम्पाङले नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाका प्रमुख अधिकृत तथा जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।

धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख साम्पाङले १ सय १ जना जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । उनले आफूले धरान र धराने जनताको हितमा सदैव काम गर्ने बताए ।

प्रमुख साम्पाङले मङ्गलबारबाट मात्रै कार्यभार सम्हाल्ने भएका छन् । यता उपप्रमुख पदमा गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले भने पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै पदभार सम्हालेका छन् ।

कार्यक्रममा प्रमुख पदमा उम्मेदवारी दिएका गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका किशोर राई, नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले प्रमुख पदमा निर्वाचित साम्पाङलाई बधाई ज्ञापन गरेका छन् ।

किशोर राईले मतपरिणाम सार्वजनिक भएलगत्तै डायरी र कलम दिँदै धरानको हितमा काम गर्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई ओहोदाको प्रमाण–पत्र वितरण गरेका थिए ।