भद्रपुर । स्थानीय तह निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराइएको छ । जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच सपथ ग्रहण गराइएको छ ।

निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत तथा झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण गर्ने मेयरहरू भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कन्काई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् ।

त्यस्तै सपथ ग्रहण गर्ने अध्यक्षहरू बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईं, हल्दिबारी गाउँपालिकाका रविन्द्र लिङ्देन, बाह्रदशी गाउँपालिकाका देवेन्द्रप्रसाद चौंलागाईं, कचनकवल गाउँपालिकाका कालेन्द्रप्रसाद सिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् । सपथ लिएका पालिकाका मेयर तथा अध्यक्षहरूले आ–आफ्नो पालिकामा निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथ गराउँदै सोमबारै कतिपय पालिकाहरूमा पदभार ग्रहण गराएको जनाइएको छ । 

यता आइतबार राति मात्रै गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको परिणाम सार्वजनिक भएको र मेचीनगर नगरपालिकाको मतगणना अझै जारी रहेकोले चार पालिकाका मेयर तथा अध्यक्षहरूलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत गौतमको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । स्वागत मन्तव्य जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले राखेको कार्यक्रमको सञ्चालन गणेश पाण्डेले गरेका थिए ।