यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पदभार ग्रहण गरेका छन् ।

सोमबार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रममा उनले पदभार गरेका हुन् । गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका लावतीले एमालेका भीमप्रसाद सम्बाहाम्फेलाई १ सय ५७ मतान्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा लावती निर्वाचित भएका हुन् ।

पहिलो पटक पदभार ग्रहण गर्दै लावतीले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीगत स्वार्थभन्दा माथि उठेर गाउँपालिकामा स्वास्थ्य बिमाको कार्यक्रमलाई प्रभावकारी बनाउने, विपत व्यवस्थापनको लागि पूर्वतयारी गर्ने, खानेपानीका स्थानीय साधन र स्रोतको संरक्षण गर्दै तमोर लिफ्ट खानेपानीलाई व्यवस्थापन गर्नेलगायतका कामलाई पहिलो प्राथमिकता दिने बताए ।

नेकपा (एमाले)को पडक मानिएको गाउँपालिकामा तीस वर्षपछि काङ्ग्रेसले पहिलो पटक पालिकाको नेतृत्व सम्हालेको हो । तर, बहुमत सदस्य एमालेको हातमा परेको छ । एमालेको तर्फबाट तीनवटा वडाबाट १५ सदस्य निर्वाचित भएका छन् भने गठबन्धनबाट अध्यक्ष, उपाध्यक्ष र दुई वडाध्यक्षसहित १२ सदस्य निर्वाचित भएका छन् ।

मातृभाषामा सपथ
पाँचथरको कुम्मायक गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले मातृभाषामा सपथ लिएका छन् । सोमबार गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले सपथ ग्रहण गराउने क्रममा लावतीले आफ्नो मातृभाषा अर्थात् लिम्बू भाषामा सपथ ग्रहण गरेका थिए ।

कुम्मायक गाउँपालिकाका अन्य जनप्रतिनिधिले नेपाली भाषामा सपथ लिएको समयमा लावतीले भने मातृभाषामा सपथ लिएका हुन् । आदिवासी जनजातिहरूको भाषा, संस्कार र संस्कृति लोप हुँदै गएको भन्दै त्यसको संरक्षण गर्न मातृभाषामा सपथ लिएको बताए । उनले गएको पाँच वर्षे कार्यकालमा पनि श्रीजङ्गा लिपिलाई पहिलो पटक वडा कार्यालयबाटै प्रयोगमा ल्याएका थिए ।

गत २०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका लावती यस पटक भने गठबन्धनको साझा उम्मेदवारको रूपमा जसपाबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस पटक स्वतन्त्रका उम्मेदवार टङ्क पौडेललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।