पथरीशनिश्चरे । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङको पथरी शनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरेको छ ।

नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अगुवाईमा नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेसहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुण्यप्रसाद पौडेल सहित राजनीतिक दलका प्रतिनिधि, नगरका प्रसाशन प्रमुख, सुरक्षा अधिकारी सहितको उपस्थितीमा प्रमाणपत्र वितरण गरिएको थियो ।

जिल्ला न्यायाधिसबाट सोमबार नगर प्रमुखले सपथ ग्रहण गरेपछि मंगलबार नगर प्रमुखले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराई कार्यकाल आरम्भ गर्ने कार्यक्रम तय भएको छ । पथरीशनिश्चरेमा नेकपा (एमाले) बाट नगर प्रमुख, उपप्रमुख सहित ३४ र नेपाली काग्रेसबाट १८ जना निर्वाचित भएका छन् ।