विजयपुर । २०७४ को निर्वाचनमा धरानमा १४ वडा जितेको नेकपा एमाले यसपटकको निर्वाचनमा १० मा सीमित भएको छ ।

एमालेले काङग्रेसले जितेका दुई वडामा जिते पनि आफ्ना वडाहरू गुमाउन पुगेको हो । २०४९ सालमा भएको पहिलो स्थानीय तह (तत्कालीन समयमा स्थानीय निकाय)मा एमालेले अधिकांश वडामा जित निकालेको थियो । तत्कालीन समयमा १९ वडामा सीमित धरानमा १, २ र ३ नम्बर वडामा भने काङ्ग्रेसको पकड मानिन्थ्यो ।

तर, अन्य वडामा एमालेले चुनाव जित्दै आएको थियो । तर, यसपटकको निर्वाचनमा भने १० वडा वडामा सीमित भएको हो । एमालेको किल्ला मानिने धरानमा निरन्तर खुम्चँदै गएको छ । २०७६ सालको उपनिर्वाचनमा पहिलो पटक पराजित बनेपछि भने एमालेमा गुटगत राजनीतिले बढी नै प्रश्रय पाउन थालेको थियो । अन्ततः २०७९ को निर्वाचनमा प्रमुख तथा उपप्रमुख पद पनि गुमाउन पुगेको छ ।

धरानको प्रमुख पदमा लौरो चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उपप्रमुखमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का अइन्द्रविक्रम बेघा निर्वाचित भए । सामाजिक अभियान्ताको रूपमा परिचित साम्पाङले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली काङ्ग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे ।

साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गरी निर्वाचित भए । गठबन्धनबका उम्मेदवार राईले १६ हजार ५९ मत प्राप्त गरे भने एमालेबाट उम्मेदवार बनेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत मात्र प्राप्त गरिन् । उनी साम्पाङभन्दा ८ हजार ९ सय ९६ मतले पछि परिन्  । धरान उपमहानगर उपप्रमुखमा अइन्द्रविक्रम बेघा २० हजार ५ सय १० मत प्राप्त गरी निवार्चित भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोले १७ हजार ६ सय ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धरानमा १ स्वतन्त्र, १ राष्ट्रिय प्रजातन्त्र पार्टी र १ माओवादी केन्द्र, ७ वडा नेपाली काङ्ग्रेस र १० वटा वडा एमाले विजयी बनेको छ । धरान १ मा कांग्रेसका यज्ञमणी आचार्य ७ सय ५७ मत ल्याउँदै विजयी बने । राप्रपाका रोशन अधिकारीले ७ सय ०३ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार सुमन श्रेष्ठले १ सय ७७ मत प्राप्त गरे । धरान ३ मा कांग्रेसका  विद्यासुन्दर शाक्यले एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १ हजार ४२ मत प्राप्त गर्दा पाख्रिनले ६ स २५ मत पाए ।

धरान ९ मा काङ्ग्रेसका रूपेश आचार्य ८ सय ९७ मत प्राप्त गरी निर्वाचित भए । प्रत्यासी एमालेका शिवकुमार राईलाई ५ सय ४६ मत प्राप्त गरे । धरान ११ मा नेपाली काङ्ग्रेसका लोकेन्द्रकुमार फागोले १३ सय ९२ मत ल्याउँदै निर्वाचित भए । धरान १६ मा काङ्ग्रेसका मुरारी भट्टराईले एमालेका उम्मेद्वार हिमाल कार्कीलाई ३ सय २६ मतान्तरले पराजित गरे । भट्टराईले २ हजार ४४ मत प्राप्त गर्दा कार्कीले १ हजार ७ सय १८ मत प्राप्त गरे । धरान १८ मा काङ्ग्रेसका नरेन्द्रकुमार राई (प्रवीण)ले ७ सय ८४ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिराज राईले ३ सय ६ मत प्राप्त गरे ।

धरान २० मा काङ्ग्रेसका पदमबहादुर लिम्बू ६ सय ४ मत प्राप्त गरी निर्वाचित भए । प्रत्यासी नेकपा माओवादी केन्द्रका विजय लामा तामाङले ५ सय ९६ मत प्राप्त गरे । त्यस्तै धरान २ मा एमालेका रमेश राईले ७ सय ४८ मत प्राप्त गर्दै विजयी बने । प्रत्यासी काङ्ग्रेसका सुधिरसिंह लिम्बूले ६ सय २७ मत पाए ।

धरान ४ मा एमालेका धनबहादुर राईले ८ ससय २६ मत प्राप्त गर्दै विजयी बने । प्रत्यासी चन्द्र कुलुङले ६ सय १२ मत प्राप्त गरे । धरान ५ मा एमालेका मनप्रसाद लिम्बु (थलङ) १ हजार ६ सय १५ मत प्राप्त गर्दै प्रत्यासी काङ्ग्रेसका सन्तोष लिम्बूलाई पराजित गरे । धरान ७ मा एमालेका जीवन सुवेदी ६ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुवर्णमोहन पलिखेलाई १ सय ७ मतान्तरले पराजित गरे । धरान ८ मा एमालेका धनबहादुर राई १ हजार ७ सय २५ मत प्राप्त गरी निर्वाचित भए । उनले निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उत्तमकुमार राईले ९ सय ८ मत प्राप्त गरे ।

धरान १० मा एमालेका विवेक राईले ९ सय २४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी रूपा राईले ५ सय ६७ मत प्राप्त गरिन् । धरान १२ मा एमालेका टङ्क राई ८ सय १५ मत ल्याउँदै विजयी बने । प्रत्यासी काङ्ग्रेसका विष्णु तामाङले ६ सय ७५ मत प्राप्त गरे ।

धरान १३ मा नेत्रप्रसाद काफ्ले निर्वाचित भएका छन् । उनले गठबन्धनका पेम्बा लामालाई ३ सय ७८ मतान्तरले पराजित गरे । धरान १५ मा नरेश इवारम ३ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी बने । प्रत्यासी गठबन्धनका सुवास खवासलाई २ हजार ४ सय २६ मतान्तरले पराजित गरेका हुन् । धरान १९ मा एमालेका पूर्ण लिम्बू ९ सय २८ मत प्राप्त गरी निर्वाचित भए । उनका  निकटतम प्रतिद्वन्द्वी राजकुमार थोप्राले ८ सय ५४ मत प्राप्त गरेका छन् ।

धरान १७ मा माओवादी केन्द्रका सूर्यबहादुर (मनोज) भट्टराई २ हजार १ सय ७६ मत प्राप्त गरी निर्वाचित भए । प्रतिद्वन्द्वीद्वय काङ्ग्रेसका नरसिंह राई र एमालेकी कल्पना शेर्पालाई पराजित गरे । राईले १४ सय ३६ मत ल्याउँदा एमालेकी कल्पना शेर्पाले १३ सय २ मत पाइन् ।

धरान ६ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराईले एमालेका हरिकुमार राईलाई ४ सय ९२ मतान्तरले पराजित गरे । भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरे । धरान १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णप्रसाद भट्टराई ९ सय ५ मत प्राप्त गर्दै निर्वाचित भए । उनले एमालेका उत्तम आलेले ६ सय ५४ मत पाए भने काङ्ग्रेसका श्याम श्रेष्ठले २ सय ९८ मत पाए ।