धरान । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६ सय ९४ तहको परिणाम सार्वजनिक भएको छ ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २ सय ९४ नगरपालिका र ४ सय ४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७ सय ५३ पालिकाका ३५ हजार २ सय २१ पदका  लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली काङ्ग्रेसले १ सय २२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ ।

सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा नौ  स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा काङ्ग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेसले १ सय ८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १ सय २१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा काङ्ग्रेसले १ सय ८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १ सय २२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ९३ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी दुई स्थानमा अग्रता कायम गरेका छन् ।

स्थानीय तहका वडाध्यक्ष पदमा काङ्ग्रेसले दुई हजार ५ सय ८ मा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार ११ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्ष पदमा एक हजार २६ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २ सय ६४ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ५ सय ५३ स्थानमा विजय हासिल गरी ४ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा काङ्ग्रेसले दुई हजार ४ सय ६६ मा जित हासिल गरी १० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले २ हजार १ सय ९७ स्थानमा जित हासिल गरी १३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्य पदमा ९ सय ३८ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २ सय ६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४ सय ९२ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा काङ्ग्रेसले दुई हजार ४ सय ९ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार १ सय ४७ स्थानमा जित हासिल गरी आठ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्य पदमा ९ सय ४७ स्थानमा जित र आठ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २ सय ६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४ सय ७८ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

वडासदस्य पदमा काङ्ग्रेसले पाँच हजार १ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले चार हजार ४ सय १२ स्थानमा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडासदस्य पदमा १ हजार ७ सय ६० स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ५ सय २७ स्थानमा जित र ५ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले एक हजार १९ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

यही जेठ ५ गतेलाई स्थानीय तहका निवर्तमान जनप्रतिनिधिहरूका पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकामा विभिन्न कारणले हालसम्म सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन सकेको छैन । आयोगको निर्देशनपछि महानगरहरूको गणनामा टोली थपेर तीव्रता दिइएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका—१२ को मतदानबारे आयोगले छानबिनपछि मतगणना वा पुनःमतदान भन्नेबारे निर्णय दिनेछ । (रासस)