विजयपुर । धरानमा किरात राईहरूले उँभौली पर्वको अवसरमा साकेला शिली प्रदर्शन गरेका छन् ।

शनिबार प्रकृतिपूजक किरात राईहरूले कुलपितृको पूजा गर्दै साकेला शिली प्रदर्शन गरेका हुन् ।  साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नओस् भन्ने कामना गर्दै साकेला पर्व मनाउने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।

साकेला प्रदर्शनीमा भेला भएका किरात राईहरूले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन् । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा भएको कार्यक्रमको १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेका थिए ।

धरानका विभिन्न वडास्तरका प्राकासहरूले साकेला शिली प्रदर्शन गरेका थिए । किरात राई यायोक्खा वडा नं. ८ र १० को व्यवस्थापनमा भएको कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार सङ्घ सुनसरीले सहयोग गरेको थियो । कार्यक्रममा धरान उपमहानगरका निवर्तमान प्रमुख तिलक राईलगायतको उपस्थिति रहेको थियो ।