विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा एमालेका शिल्पा निरला कार्की निर्वाचित भएका छन् ।

मोरङ कांग्रेसको उपसभापति पनि रहेका कोइरालाले निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई ८ हजार ७१५ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् । महानगरका १९ वटै वडाबाट कोइरालाले कुल ३० हजार १७० मत प्राप्त गर्दा थापाले २१ हजार ४५५ मत मात्र प्राप्त गरेका छन् ।

उपप्रमुखमा कार्कीले २५ हजार ६८० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जसपाका प्रत्याशी अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याएका छन् । उपप्रमुखमा तेस्रो हुने राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४०१ मत प्राप्त गरिन् ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उपमेयरको टिकट दिएपछि जसपाभित्रै विद्रोह भएको थियो । यही विद्रोहको फाइदा  शिल्पालाई पर्यो ।

तेस्रो हुने मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत हात पारेका छन् । यादव यसअघि २०७४ का चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट प्रमुखका दाबेदार थिए । त्यसबेला उनले १४ हजार ९५८ मत ल्याएका थिए । यस पटक जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनाइएपछि उमेश पाखा परेका थिए ।

वडामा कांग्रेस कम्जोर, जसपालाई क्षति

कांग्रेसको विराटनगरको मेयर पद विजयी भएपनि विगतको पकड रहेको वडाहरु गुमेको छ ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले विगतको साख बचाउन सकेन । अघिल्लो स्थानिय तहको निर्वाचनमा जसपाले विराटनगर १३, १४, १५ जितेको वडा अहिले एमाले, काँग्रेस र राप्रपाले जितेको छ । अघिल्लो पटक माओवादीले जितेको विराटनगर ६ यसपटक गुमेको छ । यस वडामा कांग्रेसले हात पारेको छ । अघिल्लो स्थानिय तमा ८ वडा जितेको कांग्रेस यसपटक ६ वडामा सिमित भएको छ ।

अघिल्लो स्थानिय तहको चुनावमा भन्दा एमालेले संख्या थप्दा कांग्रेसलाई विगतको साख जोगाउन मुस्किल प¥यो । माओवादीलाई महानगरमा खाता खोल्नै गाह्रो परेको छ ।

महानगरका केही वडामा आधर क्षेत्र रहेको वडामा पनि कांग्रेस कमजोर सावित भएको छ । परिणामअनुसार महानगरका १९ वटा वडामध्ये सबैभन्दा बढी एमालेका भागमा ९ वटा परेको छ । एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष पाएको छ । यसअघि एमालले विराटनगरमा तीन वडामा मात्र जितेको थियो । कांग्रेसले अहिले ६ वटा वडामा मात्र वडाध्यक्ष चुनिएका छन् । तिनमा वडा नम्बर ५, ६, ७, ९, १५ र १६ छन् ।

महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन् । विराटनगर महानगरमा १ लाख ३३ हजार १४२ मतदाता छन् । जसमा ८९ हजार ७८९ जनाले मतदान गरेका थिए ।