धरान उपमहानगरपालिकाको  विभिन्न वडाको  मतगणनाको पछिल्लो अपडेट अनुसार उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले अग्रतालाई निरन्तरता दिँदै मतान्तर समेत बढाएका छन् । 

याे समाचार तयार पारून्जेल उपमहानगरको ३८ हजार ६५६ मतगणना भइसक्दा सम्पाङले  ११ हजार ६८० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका ४ दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले  १० हजार ५५८ मत प्राप्त गरेका छन्  ।

राई र साम्पाङ बिचको मतान्तर १ हजार १२२ रहेको छ । प्रमुख पदकै अर्का  उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी (सुबेदी)ले भने ८ हजार ६४८ मत पाएर तेस्रो स्थानमा रहेकी छिन् । 

उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ । उनले हालसम्म १२ हजार १२५ मत प्राप्त गरिसकेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्वोले ११ हजार ६२६ मत प्राप्त गर्दै ५०२ मतान्तरले पछि परेका छन् ।

धरान मा हालसम्म १३ वटा वडाको मत गणना भइसकेको छ  । मतगणना सम्पन्न भएका वडाहरूमा  १, ३, ९ र १८ मा वडाध्यक्ष सहित नेपाल काँग्रेसको  प्यानलै विजयी भएको छ । २ मा एमालेले वडाध्यक्ष र एक खुल्ला सदस्य हात पारेको छ भने बाँकी सदस्यहरूमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

  ४, ५, ८, १० १२ र १९ मा  एमालेको प्यानल नै विजयी भएका छन् । भने ६ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सदस्यहरूमा भने चारै जना एमालेका विजयी भएका छन् । ७ मा एमालेले वडाध्यक्ष र ३ वडा सदस्य हात पारेको छ भने काँग्रेसले २ वडा सदस्य हात पारेको छ । 

वडा नम्बर २० मा अधिकृतको हस्ताक्षर विनाको  १८ वटा मतपत्र भेटिएपछि विवादका कारण घोषणा रोकिएको छ । ११, १३ र १४ को मत गणना भइरहेका छ भने, १५, १६ र १७ को मतगणना हुन बाँकी छ ।