विराटनगर । मोरङको कटहरीमा काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि रामदेव मण्डल र रामउदय सिंहलाई कुटपिट गरेका छन् ।

कटहरी गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट प्रत्यासी भई पराजित भएका बुचाइ शेखका नाति र उनको समूहले मण्डल र सिंहलाई कुटपिट गरेका हुन् ।

मङ्गलबार कटहरी–४ चमडाइ चौकमा राति १० बजे बुचाइका नातिहरू अरबाद शेख र अयासेन शेखसहितको समूहले कुटपिट गरेको बताइएको छ । बुचाइका नातिहरूले हजुरबुबालाई क्षेत्रीय प्रतिनिधि मण्डल र सिंहले अन्तरघात गरेर हराएको आरोप लगाएका छन् ।

वडाध्यक्षमा अन्तरघात गरेर जसपालाई जिताएको आरोप लगाउँदै बुचाइका नाति र उनीहरूको समूहले कुटपिट गरेको भन्दै सिंह र मण्डल बुधबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका छन् । उनीहरूले आक्रमण गर्ने बुचाइसहित उनका नातिहरू अरबाद र अयासेनलाई कारबाही गरिनुपर्ने माग राख्दै अहिले मोरङ प्रहरीमा छन् ।

कटहरी–४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीवनेश्वर यादवले ९ सय ८३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

अघिल्लो स्थानीय तहमा काङ्ग्रेसका मन्टु शेखले वडाध्यक्षमा जितेका थिए । काङ्ग्रेसको पकड रहेको वडामा अन्तरघात गरी पार्टीका उम्मेदवार हराएर अर्को पार्टीको उम्मेदवारलाई जिताएको भन्दै उनीहरूलाई आक्रमण गरेको बुझिएको छ । अहिलेको चुनावमा यस वडामा काङ्ग्रेस चौथो भएको छ । काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार बुचाइ शेखले ५ सय ६३ मत मात्र ल्याएका छन् ।