इनरुवा । सुनसरीको भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन ।  

झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर्वाचित मियाले ४ हजार ९ सय ९३ मत ल्याउँदा यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरेका छन । 

यस्तै उपाध्यक्ष तर्फ काँग्रेसकी उम्मेदवार उराँवले ४ हजार २ सय ४६ र पराजित एमालेकी उम्मेदवार सविता कुमारी मेहताले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी छिन । 

८ वटा वडा रहेको भोक्राहामा नेपाली काँग्रेसले ४ वटा वडा जितेको छ । राप्रपाले ३ र एउटा वडा भने नेकपा एसले जितेको छ ।

उता सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता बिजयी भएका छन । उनले ६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन । पराजित उम्मेदवार नेपाली काँग्रेसका श्यामलाल महतोले ६ हजार ३ सय ५८ मत पाएका छन । 

देवानगञ्जको उप प्रमुख तर्फ भने नेपाली काँग्रेसकी उम्मेदवार कुमारी विभा यादव बिजयी भएकी छिन । बिजयी उम्मेदवारले ६ हजार १ सय १२ मत ल्याउँदा पराजित जसपाकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत ल्याएकी छिन । 

७ वटा वडा रहेको देवानगञ्जमा जसपाले ४ वडामा जीत हात पारेको छ । नेकपा एमालेले २ र एउटा वडा नेपाली काँग्रेसले जितेको छ । 

अहिले सम्म सुनसरीको २ पालिकाको पूर्ण मत परिणाम सार्वजनिक हुँदा धरानको १० वटा वडाको परिणाम सार्वजनिक भएको छ । इटहरीको ४, इनरुवाको ६, दुहवीको ४, रामधुनीको ५,बराहक्षेत्रको २ वटा वडाको नतिजा सार्वजनिक भएको छ । 

त्यसैगरी बर्जुको ४, हरिनगरको ३, कोशीको ५ र गढीको ३ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।