पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हालसम्मको मत परिणाम अनुसार वडा नम्बर १ र २ मा नेकपा एमालेको र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

 वडा नम्बर १ को वडाध्यक्षमा भीमकुमार राईले कांग्रेसका राजेन्द्र वस्नेतलाई ४ सय ४९ मत अन्तरले पछि पार्दै विजय हाँसिल गरेका हुन् । राईले १ हजार ९ सय ७,  र वस्नेतले १ हजार ४ सय ५८ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा बसुन्धरा गुरुङले १ हजार ८ सय २७, दलित महिला सदस्यमा आरती विश्वकर्माले १ हजार ७ सय ७२ खुला सदस्यमा पूर्णबहादुर कार्कीले १ हजार ६ सय २ र सुरेशकुमार कार्कीले १ हजार ६ सय ७७ मत प्राप्त गरी विजय हाँसिल गरेका छन् ।

सो वडामा ७ हजार ६ सय ७९ मतदातामध्ये ४ हजार ७ सय ९४ अर्थात ६२ दशमलव ४३ प्रतिशतले मतदान गरेका थिए ।

 त्यस्तै, वडा नम्बर २ मा नैना राईले कांग्रेसका टीका तामाङलाई ३ सय ३२ मत अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित भएका छन् । राईले १ हजार ४ सय ४३  र तामाङले १ हजार १ सय ११  मत प्राप्त गरेका थिए । महिला सदस्यमा, अम्बिका लिम्बूले १ हजार ४ सय ४७, दलित महिला सदस्यमा सीता दर्जीले १ हजार ४ सय ३४ तथा खुला सदस्यमा खिलनाथ घिमिरेले १ हजार ४ सय ३८ र चन्द्रकुमार राईले १ हजार ४ सय २ मत प्राप्त गरी आफुहरुलाई विजयी वनाएका छन् । सो वडामा ५ हजार ४५ मतदाता रहेकोमा ३ हजार ३ सय ९३ अर्थात ६७ दशमलव २५ प्रतिशत मतदान भएको थियो ।

 त्यस्तै, वडा नम्बर १, २ र ३ मा अघिल्लो निर्वाचनमा एमालेले प्यानलै विजय हाँसिल गरेको थियो भने हाल वडा नम्बर ३ मा विजय लिम्बूको अगुवाईमा कांग्रेसले प्यानलै जितेर नयाँ इतिहास बनाएको छ । जसमा लिम्बूले १ हजार ८ सय ८५ र एमालेका घनश्याम कोइरालाले १ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।

जसमा मत अन्तर ५ सय ५७ रहेको छ । महिला सदस्यमा झन्केश्वरी अधिकारीले १ हजार ६ सय २०, दलित महिला सदस्य सम्झना नेपालीले १ हजार ६ सय ४९, खुला सदस्यमा चन्द्रप्रकाश चेम्जोङले १ हजार ४ सय ९९ र टंकप्रसाद पराजुलीले १ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । सो वडामा ५ हजार ३ सय ७३ मतदातामध्ये ३ हजार ६ सय ६६ अर्थात ६८ दशमलव २३ प्रतिशतले मतदान गरेका थिए ।

  हाल वडा नम्बर ४, ५ र ६ को मतगणना भइरहेको छ । नगर प्रमुखमा एमालेका मोहन तुम्वापो र उपप्रमुखमा कांग्रेसकी कविता पराजुलीको अग्रता कायम गरेका छन् । वडा नम्बर ७, ८, ९ र १० को मतगणना बाँकी नै रहेको छ ।

 नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको थियो । पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेका छन् । जसमध्ये ३४ हजार २७ अर्थात ६६ दशमलव २९ प्रतिशतले मतदान गरेका छन् ।