विजयपुर । किरातीहरूले साकेला सिली नाच्दै उँभौली पर्व मनाएका छन् ।

उँभौलीको अवसरमा किरात राई यायोक्खाले विभिन्न स्थानमा साकेला नाच्दै मनाएको हो । किरात राई यायोक्खाले १४ गतेसम्म गर्ने कार्यक्रमको प्रारम्भ धरान–१७ स्थित साकेला पार्कमा पूजा गर्दै सुरुवात गरेको हो ।

उक्त कार्यक्रमको आयोजक किरात राई यायोक्खा धरान–१७ को वडा कार्यसमिति रहेको थियो । १४ दिनसम्म गर्ने कार्यक्रमको उद्घाटन किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले गरे ।

किरायाले उँभौली विभिन्न स्थानमा वडा कार्यसमितिहरूले साकेला नृत्य प्रदर्शन गर्दै मनाएका छन् । धरान–१३ को कार्यसमितिले धरान–१४ स्थित बुद्धिकर्ण राईको दरबारक्षेत्र विजयपुरमा सोकला नृत्य गरेको छ ।

त्यस्तै इटहरी–४ र ७ कार्यसमितिले जनता माविअगाडि साकेला नृत्य गरेको छ । किरात राई दुमी फन्सिकिम सुनसरीले धरान–१५ स्थित किरायाको भवनमा पूजाआजा गर्दै साकेला नाच प्रदर्शन गरेको छ ।

कार्यक्रममा किराया सुनसरीका कार्यसमिति पदाधिकारीहरूको उपस्थिति रहेको थियो । जेठ १४ गते साकेला सांस्कृतिक पार्क धरान–१७ मा वडास्तरीय प्रतियोगितात्मक साकेला सिली हुने समितिका सचिव नवीन राईले जानकारी दिए ।