विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका  उम्मेदवार ४३ वर्षिय बवी कुमार राइ र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् ।

मंगलबार विहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

एमालले मिक्लाजुङ्ग आफ्नो पकड भएको क्षेत्रको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ । यहाँ एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् । पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेद्वार विजयी भएका हुन् ।

मिक्लाजुङ्गका गाउँपालिकाको ९ वडामा  काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २/२ वडा जितेका छ ।

मिक्लाजुङ्ग १ मा काँग्रेसका पर्वत राईले ९२१, २ मा काँग्रेसका  बलबहादुर श्रेष्ठले ६०६ मत,  ३ मा एमालेका  सन्तोष कुमार मगरले ८९८ मत, ४ मा काँग्रेसका विशाल राईले ९०८ मत,  ५ मा मेघनाथ तामाङ्गले ३८१ मत, ६ मा काँग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुवरले ८०० मत र ९ मा काँग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।