विराटनगर । विराटनगर महानगरपालिकाको दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन कार्यालयले विराटनगरले दिएको जानकारी अनुसार विराटनगर १७ मा जनता सामजावादी (जसपा) का उम्मेदवार  समिम कमर र विराटनगर १९ नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे निर्वाचित भएका हुन् ।

जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए । कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि परेका हुन् ।

आलम जसपा परित्याग गरि स्थानिय तहको निर्वाचन अगाडी मात्र काँग्रेसमा प्रवेश गरेका थिए । उनी निर्वतमान वडाअध्यक्ष पनि हुन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा आलमले विराटनगर १५ को वडाअध्यक्ष जितेका थिए ।

यस्तै विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत पाए ।

विराटनगर १७ र १९ वडाको गणना सकिएपछि विराटनगर ३ र १५ नम्बर वडाको गणना सुरू गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । अहिले विराटनगर १, २, १६, १८ को गणना भइरहेको छ ।