धरान । धरान १ मा झिनो मतान्तरले गठबन्धन प्यानलै विजयी बनेको छ ।

पब्लिक हाईस्कुलस्थित निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान १ नम्बरमा यज्ञमणि आचार्यको प्यानलै विजयी बनेको हो । आचार्यले ७५७ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनको प्यानलै विजयी बनेका छन् । उनका प्रत्यासी राप्रपाका रोशन अधिकारी ५४ मतले पराजित बनेका हुन् । अधिकारीले ७०३ मत प्राप्त गरेका छन् ।

अधिकारी यसअघि नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका थिए तर यस निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गरेका हुन् । उनी प्याराग्लाइडिङ व्यवसायी पनि हुन् ।

त्यस्तै अर्का प्रत्यासी नेकपा एमालेका सुमन श्रेष्ठले १७७ मत मात्रै प्राप्त गरेका थिए । महिला सदस्यमा रइसा कसजू श्रेष्ठले ८८९ मत प्राप्त गरिन् भने दलित महिला सदस्यमा रीता सुन्दासले ८६० मत प्राप्त गरिन् ।

त्यस्तै एकल चुनाव चिह्नमा उज्वल बास्तोलले ७८१ मत प्राप्त गर्दा दोहोरो चुनाव चिह्नका विनोद मानन्धरले ६९६ मत प्राप्त गर्दै जित हात पारे । १ नम्बर वडामा कुल मत ३ हजार १ सय ४९मतमध्ये १९ सय ३२ मत खसेको थियो । धरान १ मा २ वटा मतदान स्थलभित्र ४ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपालका अनुसार हाल ४ र ५ नम्बर वडाको मत गणना सुरु भएको छ ।

धरानमा कुल मत १ लाख ३ सय २४ मत रहेकोमध्ये ६२ हजार ८ सय ९७ मत खसेको थियो । यो कुल मतको ६२ दशमलव ६९ प्रतिशत हो ।