पदम इस्वो लिम्बू, उपमेयर उम्मेदवार, नेकपा (एमाले) धरान

घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?
– अँ, घरदैलो अभियानमा सबैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यसबारेमा मैले उहाँहरूलाई ३ देखि ५ महिनाभित्र सबै समस्या हल गर्न सकिने बताउँदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाँचकन्यासहित सिङ्गो धरानका लागि खानेपानीको मेघा प्रोजेक्टमार्फत् दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा (एमाले) जनताका लागि काम गर्न तयार छ ।

आदिवासी जनजातिको सहरमा तपाईंको एजेण्डा छैन ?
– यो धरान भनेकै आदिवासी जनजातिको सहर हो । लाहुरेहरूले बनाएको सहर हो । यो तथ्य जगजाहेर छ । त्यसैले धरानमा बसोबास गर्ने सबै जातजाति र समुदायको हितमा काम गर्दैै जाने एमालेको योजना हो । केन्द्र र प्रदेशसँग सहकार्य गरेर धरानको पहिचान विजयपुर क्षेत्रलाई ऐतिहासिक, पुराताŒिवक, धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रो एजेण्डामै छ । जनजाति समुदायका भाषा, लिपिलाई प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । नगरका विद्यालयहरूमा आफ्नो भाषा, लिपि सिक्न चाहनेहरूका लागि शिक्षक र पठन–पाठनको व्यवस्था हुनुपर्छ  भन्ने मान्छे हुँ म । कला, संस्कृतिको जगेर्नाका लागि एमालेको एजेण्डा नै छ ।

धरानको कोर एरियाको बारेमा तपाईंको धारणा नि ?
– धरानको कोर एरियामा विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथाङ्कासम्मको राष्ट्रिय गौरवको सडक विवादित छ । मुख्य बजारबीच भएर जाने बाटो ६ लेन नभएर सहरी सडकमा विस्तार गर्ने र रानी–किमाथाङ्का सडकलाई बाइपास गर्न मेरो पहल हुनेछ ।

धरानमा गठबन्धन दललाई हराउने आधार के छ ?
– गठबन्धन एकातिर भए पनि एमालेलाई नै हो धरानका जनताले रोज्ने । उपनिर्वाचनमा काङ्ग्रेसले जनतालाई नराम्रो गरी झुक्यायो । गरेका प्रतिज्ञा पूरा गरेन । गठबन्धन आफैमा झन्झन् विवादित र विभाजित बन्दै गएको छ । राष्ट्रियताको सवालमा पनि गठबन्धन दल दोचारे छ । तर, एमाले चट्टानी अडान लिएर उभिएको छ । यो तथ्य धरानको युवादेखि वृद्धवृद्धा मतदाताले बुझेका छन् । अर्को कुरा, एमालेकै जनप्रतिनिधिहरूले धरानमा सर्दु र सेउतीलगायतमा १० वटा पुल बनाएर गाउँसँग धरानलाई जोडिदिएका छन् । त्यसो त एमालेका तारा सुब्बाकै पालामा सप्तरङ्गी पार्क, शिवजट्टाको सौन्दर्यीकरण, कोकाहा ड्याम, व्यवस्थित वधशाला, खेलग्रामका डीपीआर पहिल्यै बनिसकेका छन् । यसर्थ पनि एमालेले राम्रो गरेको छ भन्ने सन्देश गएकाले गठबन्धन पराजित हुने निश्चित छ । एमालेले धरान उपमहानगरमा सेवाग्राहीलाई धेरैभन्दा धेरै सुविधा दिने लक्ष राखेको छ । कर प्रणालीलाई व्यवस्थित गर्ने, अनलाइन सिस्टममा घरैबाट कर तिर्ने व्यवस्था गर्ने, वित्तीय सङ्घीयता लागू भएकाले वडाबाटै सेवा प्रवाह गर्ने, इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टमअनुसार नक्सा पास वडामै गर्नेजस्ता योजनाहरू एमालेसँग छ । त्यो हामी गर्न सक्छौं ।

उपमेयरका लागि योग्य कसरी हुनुहुन्छ तपाईं ?
–म साविक धरान–१९ को ०५४ सालको चुनावमा निर्वाचित वडाध्यक्ष पनि हुँ । त्यसबाहेक २५ वर्ष त मैले कानून व्यवसायी भएर काम पनि गरेको छु । न्याय निरूपणमा मेरो दख्खल छ । मनोज मेन्याङ्बो धरानको मेयर भएको बेला नीति निर्माण गर्दा यहाँको दीर्घकालीन भिजन दिनेमध्ये म पनि हुँ । मलाई धरानको समस्या कसरी समाधान गर्ने, नगरवासी सेवाग्राहीको समस्यालाई कसर्ी समाधान गर्ने, धरानको विकास निर्माणको समग्र स्केच कसरी बनाउनु पर्छ भन्ने थाहा छ । म धरान फुटबल क्लबको संस्थापक सदस्य पनि भएकाले धरानलाई खेलकुदको सहर कसरी बनाउन सकिन्छ भन्ने खाका पनि छ । युवा स्वरोजगार, लागूपदार्थ नियन्त्रण, न्याय सम्पादनमा निष्पक्षताबारे मलाई राम्रो जानकारी भएकाले म धरानको लागि एमालेको तर्फबाट योग्य उम्मेदवार हुँ भन्ने प्रमाणित गर्न सक्छु ।