धरान । काठमाडौँबाट इलाम आउँदै गरेकी एक १७ वर्षीया किशोरीमाथि माइक्रोबसभित्रै यौन दुव्र्यवहार गरेपछि पीडितको अभिभावकले आक्रमण गर्दा चालकको मृत्यु भएको छ ।
बा.५ ख ५९८२ नम्बरको माइक्रोबसका सह–चालकले इलाम नगरपालिका–७ मा सबै यात्रु ओर्लिएपश्चात् किशोरीमाथि यौन दुव्र्यवहार गरेका थिए ।
उक्त कुरा पीडितले आफ्ना अभिभावकलाई बताएपछि बुबाले चालकमाथि आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर बनेका बाग्मती प्रदेश नुवाकोट तारकेश्वर गाउँपालिका–२ का दीपक ढुङ्गानाको उपचारको क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
पीडितलाई दुव्र्यवहार गरेपछि सह–चालक नुवाकोट बेलकोट नगरपालिका–१३ का २१ वर्षीय विनय वाग्ले भने फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय इलामले शनिबार पक्राउ गरेको एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
घटना वैशाख २० गते भएको हो । इलाम आइपुग्दा राति भइसकेकाले किशोरीमाथि दुव्र्यवहार गरेका थिए । एसपी श्रेष्ठका अनुसार आक्रमण गर्ने इलाम–६ का पिता पनि पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।