मञ्जु भण्डारी (सुवेदी)
नेकपा (एमाले) को तर्फबाट मेयरका उम्मेदवार धरान उपमहानगरपालिका
चुनावी प्रचार–प्रसारको घरदैलो अभियान कस्तो हँुदैछ ?
– धरानमा हाम्रो चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम आक्रामक तरिकाले हुँदैछ । वैशाखको यस्तो चर्को घाममा पनि एमालेको पक्षमा हामी उम्मेदवारसँगसँंगै सबै जनता र कार्यकर्ताहरू उत्साहका साथ एक ढिक्का भएर चोकचोक, टोलटोलमा परिचालित हुनुभएको छ ।
स्थानीय तहको चुनावमा धरानमा एमालेले जित्ने आधार चाहिँ के छ ?
– धरानमा एमालेले जित्ने आधार धेरै छ । तर, प्रतिपक्षीहरूले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लाञ्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । वास्तवमा भन्ने हो भने घरदैलो कार्यक्रममार्फत् मैले बुझेअनुसार चुनाव जितिसकेको अवस्था छ। वैशाख ३० गतेपछि जेठको पहिलो हप्तामा एमाले पुग्छ सत्तामा ।
धरानमा एमालेले जित्न किन जरुरी छ ?
– एमाले यो देशको मूल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र सङ्घको सत्ता सञ्चालन गर्ने पनि यही पार्टी हो । नगरको समग्र विकास गर्न धरानमा एमालेले जित्न जरुरी छ । धरानको विकासको खाकालाई मूर्तरूप दिन सङ्घ एवम् प्रदेशसहित दातृनिकायको साथ र सहयोग चाहिन्छ । ०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका मेयर तिलक राईजी आउनुभयो । तर, दातृनिकायले धरानको विकास निर्माण गर्न उहाँसँग सहकार्य गर्न चाहेको देखिएन । यताबाट पनि पहलकदमी हुन सकेन । दातृनिकायसँंगै सङ्घ र प्रदेशको स्रोत विना धरानको विकास निर्माण सम्भव छैन । यो अवस्थामा केन्द्रमा सिधा पहुँच बनाएर र दातृनिकायसँग सहकार्य गरी आर्थिक स्रोत जुटाएर अधुरा रहेका ठूला योजना पूरा गर्न र पहिल्यै डीपीआर बनेका दीर्घकालीन गौरवका योजनाहरू सुरुवात गर्न एमालेले धरानमा जित्न जरुरी छ । दातृनिकायसँग सहकार्य गर्न, सङ्घ र प्रदेशबाट स्रोत जुटाउन म आफू सक्षम छु ।
तपाईंको पालाको खानेपानी आयोजानले खानेपानी अझै दिन सकेको छैन नि ?
– खानेपानी आयोजना असफल भएको छैन । तर, व्यवस्थापनमा कमजोरी भएको छ । यसका लागि ऐन बनाएर खानेपानी वितरण सम्बन्धी राम्रा र दक्ष कर्मचारीको दरबन्दी सिर्जना गरी धरान खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साविक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्नेछौं । यो काम ३ देखि ५ महिनाभित्र गर्नेछौं ।
धरानमा सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने भन्ने सोच्नुभएको छ ?
– सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने मुद्दा हामीले पहिल्यैदेखि भन्दै आएका छौं । धरानमा उनीहरूको मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर लगत लिने, घर नम्बर दिने काम पनि स्वर्गीय मेयर तारा सुब्बाको पालादेखि नै सुरु भएको हो । तर, गठबन्धन सरकारले अवरोध गरेपछि बीचैमा रोकियो । धरानमा १३ हजार ५ सय घरधुरीको लगत सङ्कलन भएको छ । पहिलो चरणमा २५ सयलाई निस्सा दिने तयारी पनि गरिएको छ । त्यसबाहेक सुकुम्बासी समुदायको शिक्षा, स्वास्थ्य, आवास र रोजगारको अवसरमा पहुँच दिलाउने प्रतिबद्धता पनि गर्छु ।
धरानको विकास निर्माणमा एमालेको एजेण्डा छैन भनिन्छ नि ?
– धरानको विकास निर्माणमा हामीसँग थुप्रै एजेण्डाहरू छन् । मुख्यगरी यो दुई वर्षभित्र पूरा हुने गरी स्मार्ट बसपार्क निर्माणका लागि टेण्डर नै भइसकेको छ । अहिले भौतिक पूर्वाधार तयार हुँदैछ । म उपमेयर हँुदा गरेको पहलमा स्मार्ट बसपार्क निर्माणको काम २५ प्रतिशत हुँदैछ । सर्दु, सेउती करिडोर, साइन्स सिटी पार्क, धरान सिटी अस्पताल, धरान स्मार्ट सिटीका लागि पूर्वाधार तयारी गर्न डीपीआर तयारी नै भएको छ । अर्को महŒवपूर्ण कुरा छ, धरानको किरातकालीन ऐतिहासिक पुराताŒिवक थलोको रूपमा विजयपुरलाई चिनाइरहन पर्दैन । यो स्थलमा सम्बन्धित समुदायसँग समन्वय गरेर विजयपुर दरबार बनाउने, सभ्यता र संस्कृतिको पहिचानसहितको सङ्ग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ । यसैगरी धरानलाई इकोनोमिक करिडोरको रूपमा विकास गरेर पुर्वी पहाडी जिल्लाका लागि ट्रान्जिट पोइन्ट बनाउने, अटोजोनको रूपमा विकास गर्ने, सिण्डीकेट प्रणाली खारेज भएपनि रहेका उनीहरूका सम्पत्तिलाई हाल बनेका कम्पनीमै हस्तान्तरण गर्न पहल गर्ने, आदिवासी जनजाति विकास समिति गठन गरेर भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको विकास गर्ने, त्यसका पनि विशेषगरी सम्बन्धित समुदायसँग समन्वय गरेर मुन्धुमी ज्ञानलाई प्रवद्र्धन गर्ने र भाषा, लिपि पठन–पाठनका लागि पहल गर्ने एजेण्डाहरू हामीसँग छ । त्यतिमात्र नभएर नयाँ पर्यटकीय गन्तव्यका लागि धरानको विजयपुर–वराहक्षेत्र–खुवालुङ सर्किट बनाएर बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाको संरक्षण गर्ने एजेण्डाहरू पनि छन् । शिक्षामा गुणस्तर सुधार गर्न पहल गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने, नगर युवा परिषद्, महिला विकास समिति बनाएर काम गर्ने योजनाहरू छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निःशुल्क सेवा र निःशुल्क दाँत लगाइदिने योजना पनि छन् । धरानलाई बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री र वातावरणमैत्री बनाउँदै जातीय छुवाछुत र विभेद तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौं ।
































