धरान । किरात राई यायोक्खा सुनसरीले उँभौलीको अवसरमा धरानमा साकेला सिली प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै यायोक्खाले जेठ २ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमहरूसहित साकेला उँभौली मनाउने जनाएको छ । किरात राई समुदायले हरेक वर्ष वैशाख पूर्णिमादेखि १५ दिन (औंसी)सम्म साकेला सिली नाचेर उँभौली मनाउने गर्छन् ।

यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जेठ २ गतेदेखि विभिन्न ठाउँ तथा प्राकासहरूमा साकेला सिली प्रदर्शनी कार्यक्रम गरिने र जेठ १४ गते धरान–१७ स्थित साकेला पार्कमा वडा प्रारम्भिक कार्यसमितिस्तरीय साकेला शिली प्रतियोगिता गरिने जनाएका छन् ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहले नगद ३० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले नगद २० हजार पुरस्कार पाउनेछ ।

यस्तै, विभिन्न विधागततर्फ भेषभूषा, सहभागिता, व्यवस्थापन, सांस्कृतिक सामग्री,  मौलिक भेषभूषा र उत्कृष्ट हुने प्रथम, दोस्रो र तेस्रोले नगद ७ हजार, ५ हजार र ३ हजार क्रमशः पाउने बताइएको छ । धरान र धरानबाहिरका लागि छुट्टाछुट्टै नगद पुरस्कार वितरण गरिने यायोक्खा सुनसरीका सचिव नवीन राईले बताए ।

यायोक्खाले किरात राई समुदायको महत्वपूर्ण चिन्डोको प्रतीक जथाभावी प्रयोग नगर्न र समयअगावै ढोल, झ्याम्टा प्रयोग नगर्न पनि सचेत गराएको छ ।