धरान । सरकारले ल्याएको नियमका कारण अप्ठ्यारोमा परेको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक सङ्घले देशभर इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

सरकारले नियम परिवर्तन नगरे अर्को साताबाट इन्टरनेट सेवा ठप्प पार्ने सङ्घका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

त्यस्तै वैशाख १९ गते मनाइँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पनि बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । सरकारले सूचना र सञ्चार प्रविधिको लागि आवश्यक वातावरण बनाई इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा कार्यक्रमको नाममा देखावटी काममात्रै गरेको भन्दै विरोध जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफूहरूका अपस्ट्रिम प्रोभाइड्सजस्ता कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरूपमा बन्द गरेको र गर्न लगाएको कारण विगत ६ महिनादेखि भुक्तानीमा समस्या आएको जनाइएको छ ।

सोही कारण नै इन्टरनेट ठप्प पार्नुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ । त्यस्तै इन्टरनेटमा चर्को कर लगाउने मुलुकभित्र पर्ने उल्लेख गर्दैै ४५ प्रतिशत बढी कर हुँदा त्यो नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्ता गरेको पनि पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।