विराटनगर ।  मोरङको उर्लाबारीमा नग्न अवस्थामा एक जना पुरुषको शव ढलमुनी भेटिएको छ । उर्लाबारी नगरपालिका–५ स्थित सञ्जीव तामाङको निर्माणाधीन घरको ढलमुनि शुक्रबार दिउँसो शव भेटिएको हो । 

शव उर्लाबारी–७ का अन्दाजी ४० वर्षीय ज्ञाने दर्जीको भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार दर्जी ५ दिनदेखि बेपत्ता थिए । 

निवस्त्र अवस्थामा भेटिएको शव पोस्मार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी श्रेष्ठको भनाइ छ । शरीरमा कुनै चोटपटक नरहे पनि घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको उनले बताए । 

‘निर्माणाधीन घरको ढलमा निवस्त्र अवस्थामा पुरुषलाई मृत फेला पारिएको छ,’ श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’ प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटना यकिन हुने उनको भनाइ छ ।

परिवारका आफन्तले हत्याको आशंका गरेका छन् । हत्या गरेपछि शव लुकाउन ढलमुनी फालिदिएको हुनसक्ने मृतकका आफन्तको भनाई छ ।