सुनसरीको बराहक्षेत्र-१ चावाचामा पितृ उद्धारका लागि श्रीमद् भागवत सप्ताह पुराण सुरु भएको छ ।
चावाचा स्थित दाहाल परिवारले आफ्ना पितृहरुको उद्धारका लागि लगाएको पुराण शुक्रबारबाट सुरु भएको हो । आफ्ना पुर्खा तथा पितृहरुको सम्मान र सम्झनामा पुराण आयोजना गरिएको आयोजक भीमबहादुर दाहालले बताए । पुराणमा बराहक्षेत्रधामका प्रसिद्ध बाचक पण्डित योगेश भन्डारी र पण्डित श्याम पौडेलले कथावाचन गरिरहेका छन् । दुवै जना पूर्वमा चर्चित पुराण बाचकका रुपमा परिचित छन् । उनीहरुले विभिन्न ठाउँमा विद्यालय, धर्मशाला, मन्दिर निर्माण जस्ता सामाजिक तथा धार्मिक स्थल विकासका लागि पनि पुराण बाचन गर्दै आएका छन् ।
स्थानीयवासीले पुराणसँगै गाउँमा मन्दिर समेत स्थापना गर्ने बताएका छन् । बराहक्षेत्र १ का वडा सदस्य लोकबहादुर दाहालले चावाचामा जलकन्या देवीथान भएपनि त्यसको प्रचार प्रसार तथा संरक्षण हुन नसकेको अवश्थामा पुराणमा इच्छुक दाताले गरेको सहयोगबाट मन्दिर स्थापना गरिने बताए ।
उनका अनुसार पुराण सुन्नका लागि चावाचासँगै चतरा, बयरवन तथा विभिन्न जिल्लाबाट सहभागीहरु आएका छन् । गाउँमा पहिलोपटक पुराण आयोजना भएकाले यसबाट संकलित सहयोगले मन्दिरको सुरुवात गर्ने लक्ष्य रहेको वडाअध्यक्ष दाहालले बताए । वैशाख १५ सम्म सञ्चालन हुने पुराणमा कथावाचनसँगै दैनिक विभिन्न भजन कृतन र पुजापाठ हुने प्रमुख बाचक योगेश भण्डारीले बताए ।