यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थित सिद्ध मा.वि. रानीगाउँका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

स्व.नरबहादुर सम्बाहाम्फे र धनमती सम्बाहाम्फेको स्मृतिको १० लाख  अक्षयकोष रकमबाट छात्रवृत्ति वितरण गरिएको हो । अक्षय कोषको वार्षिक ब्याज ८४ हजार ८ सय रुपैयाँबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीका साथै विपन्न र जेहेन्दार छात्र–छात्रालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्र.अ. नरेन्द्र बोहोराले बताए ।

विद्यालयका नर्सरीदेखि कक्षा १० सम्म पहिलो, दोस्रो र तेस्रो हुने ३३ जनालाई क्रमशः २२ सय, १७ सय र १३ सय रुपैयाँको दरले छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा अन्य २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।

उनीहरूलाई जनही १२ सयका दरले २७ हजार ६ सय रुपैयाँ वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा (एमाले) केन्द्रीय सदस्य डम्बरसिं सम्बाहाम्फेले छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गरेका थिए ।

गतवर्ष उत्कृष्ट अङ्क ल्याउने र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न समाजसेवी शेरबहादुर सम्बाहाम्फेले परिवारको सम्झनामा अक्षय कोष स्थापना गरेका थिए । सो रकमबाट पहिलो पटक उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र जेहेन्दार विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

puraska-ranigau1