कोसी गाउँपालिका–५ का महावतीदेवी सदाले चार/पाँचवटा बाख्रा पाल्दै आए पनि यसबारे खासै अनुभव नहुँदा उहाँलाई समस्या हुँदै आएको थियो । बाख्रामा लाग्ने रोगबारे थाहा नभएको र रोग लागे पनि त्यसको लक्षण पहिचान गर्न कठिनाइ हुँदै आएकामा अब सदा यस विषयमा पूर्णरुपले जानकार भएका छन् ।
सोही वडाकी परमेश्वरीदेवी सदालाई पनि बङगुर पालनमा खासै अनुभव थिएन । उनले दुई/चारवटा बङगुर पाल्दै आए पनि पाल्ने तरिका र तिनमा लाग्ने रोगबारे थाहा नहुँदा खासै आम्दानी लिन कठिन हुँदै आएको थियो ।
अब परमेश्रीलाई कुन जातको बङगुर पाल्ने, तिनलाई कसरी दाना दिने र रोग लागेमा कहाँ लगेर कसरी उपचार गराउनेजस्ता विषयमा जानकारी भएकाले व्यावसायिकरुपमा बङगुर पाल्न हौसला मिलेकोे छ । त्यसैगरी कुन्तीदेवी मेहतालाई पनि कुन बेला कुन तरकारी खेती गर्ने र तिनमा के कस्ता मलखाद दिने भन्नेबारे खासै ज्ञान नहुँदा जे जति तरकारी फल्थ्यो त्यसमै चित्त बुझाउनुपथ्र्यो।
उनि पनि अहिले यस विषयमा पूर्ण जानकार भएर व्यावसाहिकरुपले खेती गर्न थालेका छन् । उक्त वडाका यी तीन महिला उदाहरणका पात्र मात्र हुन् । सुनसरी जिल्लाको उक्त गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई तालिम दिएका कारण अहिले उनीहरु आफूले गर्ने व्यवसायमा जनकार भएका हुन् ।
गाउँपालिकाले महिलालाई लक्ष गरेर सञ्चालन गरेको सात दिने होटल, बङगुर पालन, बाख्रा पालन, तरकारी खेती र भुजिया बनाउने तालिमले यस क्षेत्रका महिला आत्मनिर्भर हुनाका साथै आफैले पनि व्यावसायिकरुपमा काम गरेर स्वरोजगार हुने अवसर सृजना गरेको स्थानीय सुनितादेवी कामैतले बताए । गाउँपालिकाको आर्थिक सहयोग र इटहरीस्थित महिला सीप विकास केन्द्रले गाउँमै गएर तालिम दिएकाले महिलालाई रोजगार बन्न सहज भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।
यस्ता तालिमले आफूहरुलाई धेरै फाइदा भएको र आउने दिनमा तालिमलाई निरन्तरता दिनुपर्नेमा सोही गाउँ निवासी बबिताकुमारी मण्डलले जोड दिए । काम नपाएर तेसै समय बिताउँदै आएकामा यस्ता तालिम आयआर्जन गर्ने माध्यम बनेको स्थानीय सुनितादेवी कामतले बताए ।
तालिमका कारणले महिलालाई रोजगारी दिलाउनाका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुगेको तालिम लिनुभएकी ललितादेवी सदाले जानकारी दिए। आगामी दिनमा महिलालाई लक्ष गरेर यस्ता किसिमका अन्य थप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताए ।