विराटनगर । मोरङ व्यापार सङ्घले विराटनगरमा आयोजना गर्ने ‘ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएकोले शुक्रबारदेखि सञ्चालन हुने जनाएको छ ।
चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले गर्ने भएका छन् । मोरङ व्यापार सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १ सय ६ वटा सामान्य स्टल रहने एक्स्पो आयोजक समितिका संयोजक एवम् सङ्घका उपाध्यक्ष विकासकुमार बेगवानीले जानकारी दिए । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ ।
त्यस्तै अटोमोबाइलका १० स्टल रहनेछन् । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् । यसका लागि ६० हजार तोकिएको छ । ‘एस्क्पोमा रहने सम्पूर्ण स्टलहरू बुक भएका छन्’–उनले भने ।
संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ ।
एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधीकरण गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ ।
त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहनेछ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिलजस्ता अन्तर्राष्ट्रिय संरचनाको आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरूका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ । ९ दिन चल्ने एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरूसमेत बिक्री वितरण हुनेछन् ।
एक्स्पोको आयोजनाका लागि ३ करोड खर्च र एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । बेगवानीले एक्स्पोको मुख्य प्रायोजक एसियन थाई फुड्सको रमपम तयारी चाउचाउ, डाइमन्ड प्रायोजक सेन्चुरी मसला तथा गोल्ड प्रायोजकमा रिजालको ब्रान्डका पाइप र बाबा प्रशोधित तेल रहेको जानकारी दिए ।