धरान । नेवाः देय दबूका पदाधिकारीहरू सातौं राष्ट्रिय महाधिवेशन ‘एकताको सन्देश दिँदै’ सर्वसम्मत कार्य समिति निर्माण गर्नेतर्फ जुटिरहेका छन् ।

केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारले शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो जोड एकतामा रहन्छ, यसपटक सर्वसम्मत नै पदाधिकारी चयन गर्ने भन्ने हाम्रो लक्ष्य छ ।’ छैठौं महाधिवेशनबाट दबूमा प्रजातान्त्रिक अभ्यास सुरु भएको थियो । यो अभ्यास सातौं महाधिवेशनमा पनि देखिने खतरा बढेको छ ।

चैत १४ र १५ गते धरानमै हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा धरानका केही खलपुचःहरूले असन्तुष्टि जनाउँदै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । ‘हामी ती साथीहरूसँग छलफल गर्नेछौं, यसले केही निष्कर्ष आउनेछ’ अध्यक्ष ताम्राकारले भने, ‘एकतामा जोड दिने दबू यस्ता समस्यालाई हल गरेरै जान्छ ।’

महाधिवेशनको अन्तिम तयारी सम्पन्न भएको व्यवस्थापन समिति संयोजक अनिल मास्केले बताए । उनका अनुसार शनिबारै महाधिवेशनको प्रचारका लागि ‘साइकल र्याली’ आयोजना गरिएको थियो । आइतबार सुकुन्दा र्याली आयोजना गरियो । आइतबार साँझ सिद्धि नेवाः परिषद्बाट सुकुन्दा र्याली सुरु भएको संयोजक मास्केले बताए ।

त्यस्तै महाधिवेशनको उद्घाटनपूर्व रक्तदान कार्यक्रम गरिने जनाइएको छ भने सोही दिन झाँकीसहितको र्याली पनि आयोजना गरिँदै छ । महाधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक आउँदै छन् ।

यसपटक एकताको सन्देश दिने मुख्य उद्देश्य रहेको जनाइएको भए पनि धरानका केही खलपुचःको विज्ञप्तिले त्यो सन्देश भने दिएको छैन । खलपुचःका पदाधिकारीहरूले आयोजक संस्थाले ‘हालसम्म कुनै पनि सहकार्य र जानकारी नगराएको’ भन्दै आक्रोस व्यक्त गरेका छन् । यस आक्रोसको सुनुवाइ गरी चाँडै समाधान गर्ने आयोजकको दाबी छ ।