भद्रपुर । जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाले एकजना प्रदेश सभा सदस्यसहित विभिन्न विधाका तीनजना व्यक्तिलाई बिहीबार पुरस्कृत तथा सम्मान गरेको छ ।

प्रतिष्ठानको १२ औँ वार्षिक साधारण सभाको अवसरमा अर्जुनधारा—११ बुट्टाबारीमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधानलाई अभिनन्दन गरेको हो । 

 यसवर्षको ज्येष्ठ नागरिक तथा समाजसेवा सम्मान झापा कमल गाउँपालिका— ५  छविलाल गौतमलाई प्रदान गरेको छ । त्यसैगरी हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार तथा जङ्गवीर गुभाजू श्रेष्ठ सम्मान ताप्लेजुङ्गका पत्रकार राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी, साहित्यतर्फको पुरस्कार तथा सम्मान पाँचथर फालेलुङका साहित्यकार सीता लावती जवेगुलाई प्रदान गरिएको थियो  । पुरस्कारको राशी नगद ११ हजार ५ सय रुपैयाँ, सम्मान पत्र र दोसल्ला रहेको थियो ।

 हरेक वर्ष प्रतिष्ठानले सामाजिकदेखि पत्रकारिता र साहित्य विधामा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेपनि विगत दुईवर्ष कोभिड १९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानले ११ औँँ वार्षिक साधारणसभा सम्म पुग्दा ९८ जनालाई सम्मान तथा पुरस्कृत गरिसकेको जनाएको छ । 

 जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  सञ्चालन भानु श्रेष्ठले गरेका थिए ।  कार्यक्रममा प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधान, त्रिफला पुस्तकालय मेचीनगरका अध्यक्ष प्रेमप्रकाश पोखरेल, अधिवक्ता नारायणप्रसाद चौलागाईँ, विजयमान श्रेष्ठ,कृष्ण श्रेष्ठ, जगतबहादुर मगर, शोभा श्रेष्ठ, रुद्रमणि श्रेष्ठ र सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुकातर्फबाट साहित्यकार सीता लावती जवेगुले बोलेकी थिइन् ।