विराटनगर । स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पतिशास्त्र र प्राणीशास्त्र विषयअध्ययनरत विद्यार्थीका लागि फेलोसिपको स्थापना भएको छ । प्रत्येक वर्षदुई जना विद्यार्थीलाई प्रदान गर्ने गरी मिलन दाहाल फेलोसिपको  स्थापना भएको छ ।

सोही क्याम्पसका पूर्व विद्यार्थी हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिलन दाहालले यहाँ कार्यरत संस्था नेपाल जैविक समाजमार्फत् उपयुक्त विद्यार्थीलाई प्रदान गर्ने गरी फेलोसिपको स्थापना गरेका हुन् । फेलोसिपको राशि जनही २५ हजार रुपैँया रहेको छ ।

 हरेक वर्ष उक्त विषयमा शोधकार्य गर्ने विद्यार्थीहरुमध्ये समाजमाविशेष योगदान पुर्याउने खालको शोधकार्यका लागि फेलोसिप प्रदान गरिने संस्थापक दाहालले बताए । यद्यपि छनौट गर्ने जिम्मेवारी नेपाल जैविक समाजलाई दिइएको छ । सो संस्थाले सम्बन्धित विभागसँग समन्वय गरी उपयुक्त शोधार्थीको छनौट गर्ने वनस्पति शास्त्र विभागका प्रमुख प्राडा उमेश कोइरालाले बताए ।

फेलोसिप संस्थापक र दुवै विभागका प्रमुखहरुकोे उपस्थितिमा नेपाल जैविक समाजको बुधबारको वैठकले यस वर्षका लागि प्राणीशास्त्रबाट शंकर पाण्डे र वनस्पतिशास्त्रबाट ओमप्रकाश अर्याललाई छानेको छ । दुबै जनालाईपहिलोकिस्ता रकम समेत प्रदानगरिएको छ । पाण्डेले लोपोन्मुख चरा गिद्धको गतिविधि र अर्यालले सुनवर्सी पोखरीको सूक्ष्म वनस्पतिका विषयमा शोधकार्य गरिरहेका छन् ।

बुधबार आयोजित फेलोसिप वितरण कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्राडा शशिनाथ झाले पछिल्लो पुस्तालाई प्रेरित गर्ने सोचका साथ दाहालले फेलोसिप स्थापना गरेर उदाहरण प्रस्तुत गरे ।