विराटनगर । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले पछिल्लो समय कारागार भित्र पनि मुद्दा मिलाउने भन्दै बिचौलिया सक्रिय रहेको भन्दै कैदीबन्दीहरूलाई सचेत र सर्तक रहन सुझाब दिएका छन् ।  

मोरङ कारागारभित्र तीन दिनसम्म संचालन हुने न्यायीक शिविरको मंगलबार उदघाटन गर्दै न्यायाधीश श्रेष्ठले मुद्दा जिताउने र मिलाउने भन्दै कारागार भित्र पनि बिचौलिया देखिन थालेको भन्दै यस्ता बिचौलियाबाट सचेत र सर्तक रहन कैदीबन्दीहरुलाई सुझाब दिएका हुन् । 

‘न्याय सम्पादनको क्रममा मुद्दा मिलाउने र जिताउने भन्दै बिचौलियाहरु सक्रिय भएको देखिएको छ,’ न्यायाधीश श्रेष्ठले भने, ‘कुनै मुद्दामा प्रतिवादीले जित्नेछन् । भने त्यस्ता मुद्दा जितिहाले भने मैले न्यायाधीश मिलाएको कारणले जितेको हो भन्दै हिड्ने बिचौलिया अहिले कारागारमा पनि देखिएको छ । त्यसैले यस्तो चक्करमा नलाग्न आग्रह गर्दछु ।’

सेवाग्राहीहरु बिचौलियाको प्रभावमा पर्न नपरोस भनेर अदालत परिसरमा यसअघि बिचौलिया प्रवेशमा निषेध गर्न टोकन प्रणाली लगाएको थियो । अदालतप्रतिको आस्था र विश्वासमा बृद्धि गर्ने उद्देश्य आफूमा रहेको भन्दै उनले विपन्न र असहायहरुका लागि निःशुल्क कानुनी सहायता केन्द्रको स्थापना, बिचौलिया नियन्त्रणका लागि प्रवेश पास प्रणाली, समुदायमा अदालत कार्यक्रम सञ्चालन र कारागारमा न्यायिक शिविर सञ्चालन गरेको उनले बताए । सेवाग्राहीलाई न्यायको पहुँचमा सहजता दिलाउने प्रयत्नमा आफू लागिपरेको उनको भनाई छ ।

असहायक र विपन्नको लागि अदालतमा दुई जना बैतरनी कानुन व्यवसायी र बारसँग समन्वयन गरि कानुनी सहयताको लागि २७ जना कानुन व्यवसायीले पैरवी गरिदिने भएको न्यायाधीश श्रेष्ठले बताए । अदालतलाई नागरिकमैत्री बनाउन सेवाग्राहीहरुको गुनासो सुनुवाईका लागि समुदायमा अदालत अभियान प्रभावकारी बनाएर अगाडी बढाउने उनले बताए । 

तीनदिनसम्म संचालन हुने न्यायीक शिविरमा कैदीबन्दीलेहरुले गुनासो र समस्या राख्नेछन् । कैदीबन्दीहरुको गुनासो र समस्या टिप्न मोरङ अदालत र उच्च अदालत विराटनगरका ४ जना कर्मचारी विहान ११ देखि तीन बजेसम्म तीनदिन कारागारमा रहने उच्च अदालत विराटनगरका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए । कैदीबन्दीहरुले गुनासो र समस्या संकलन गरेपछि सकेसम्म समाधानको प्रयास गर्ने उद्देश्यले न्यायीक शिविरको आयोजना गरिएको न्यायाधीश श्रेष्ठले बताए ।

‘यहाँका कैदीबन्दीहरुले उठाएको समस्या र गुनासोको विषयमा अदालतका न्यायाधीहरूबीच छलफल हुनेछ,’ उनले भने, ‘कैदीबन्दीहरुको गुनासो र समस्या सकेसम्म सामाधानको प्रयास हामी गर्नेछौं ।’ न्यायाधीश श्रेष्ठ उच्च अदालत राजविराजका मुख्य न्यायाधीश रहदा कारागारमा सुरु गरिएको न्यायीक शिविर प्रभावकारी भएपछि मोरङ कारागारमा यो शिविर आयोजना गरिएको छ । मोरङ कारागारमा सुरु गरिएको न्यायीक शिविर अहिलेसम्मकै पहिलो हो ।

मोरङ कारागारमा ८ सय ९७ जना कैदीबन्दी रहेको नाइके अबिशेक गिरीले जानकारी दिए । कारागारको कैदीबन्दीहरुको लागि मुद्दा प्रक्रियाको अवस्था, अहिले नयाँ आएको कानुनको विषयहरुमा कारागार भित्र आएको न्यायीक शिविर प्रभावकारी हुने उनले बताए ।