भद्रपुर । झापाको मेचीनगरमा स्थानीय प्रशासनलाई गुलेली (ग्याटिस) बुझाउनेले शैक्षिक सामग्री(कपी)उपहार पाउने भएका छन् ।

विद्यार्थीहरुले स्थानीय प्रशासनलाई गुलेली बुझाए वापत जनही एकदर्जन कपी उपहार प्राप्त गर्ने छन् ।  नगरको वडानम्बर–४ स्थित बाहुण्डाँगीबाट यो अभियानको थालनी गरिएको हो ।

दुर्गादेवी कटुवाल, अङ्कित कार्की र सन्देश खड्काले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहाललाई एक/एक थान गुलेली बुझाएर अभियानको थालनी गरेका थिए । तीनैजना स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा १०, ६ र ५ मा अध्ययनरत विद्यार्थी हुन् ।

विद्यार्थीहरुले स्थानीय प्रशासनलाई गुलेली बुझाए वापत सङ्घ संस्थाको समन्वयमा जनही एकदर्जन कपी उपहार दिइएको डिएसपी दाहालले बताए । सिकार खेल्न हुन्न भन्ने सोचको विकास भएकोमा स्थानीय प्रशासनले समेत उक्त कार्यको खुलेरै प्रशंसा गरेको दाहालको भनाई छ ।

घरेलुलगायत अन्य कुनै पनि प्रकारका हतियार चलाउन हुन्न, जनावर मार्न हुन्न भन्ने सन्देश दिनका लगि तीनजना विद्यार्थीले जसरी तीन थान गुलेली बुझाए अब विस्तारै गाउँमा अरुले पनि आफुसँग भएका गुलेलीलगायत अन्य हतियार बुझाउनेमा उनको विश्वास छ ।

वन्यजन्तुको चोरी सिकार गर्न पाइँदैन, संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन अभियान शुरु गरिएको ग्रामीण पर्यटन अभियन्ता अर्जुनकुमार कार्कीले जानकारी दिए । विद्यालय छुट्टीका दिन वा साप्ताहिक बिदाका दिन प्रायःजसो विद्यार्थी र सर्वसाधारणसमेत गुलेली लिएर जङ्गल क्षेत्रमा सिकार खेल्न जाने गरेका कारण त्यसको नियन्त्रणका लागि पनि यस्तो अभियान शुरु गरिएको सरस्वती माध्यमिक विद्यालयका शिक्षिका अनिता थापाको भनाई छ ।

गाउँमा लुकीछिपी सिकार गर्न जाने प्रचलन अझै पनि भएको शिक्षिका थापाले बताइन्  । विद्यालय बिदाका दिन शिकार खेल्न छाडेर कपीमा चित्र बनाएर घरमै बस्न, कुनै विषयमा लेख लेख्न वानी बसाउने उद्देश्य राखेर  विद्यालय उमेरदेखि नैतिक शिक्षाको पाठ सिकाउन अभियान सुरु गरेका उनले बताइन्  । सिकार खेल्न रोक लगाइसकेपछि वा गुलेली बोक्ने हातले कपी र कलम समाउन थालेपछि उनीहरुको बानी परिवर्तन हुने विश्वास लिईएको उनको भनाइ छ ।

यो अभियानमा जुनसुनै क्षेत्रमा रहेका युवालाई संरक्षणमा सहभागी गराइने अभियन्ता कार्कीको भनाइ छ । अभियानमा हजारौ युवाहरू सहभागी हुने विश्वास लिईएको उनले बताए ।

अवैधरुपमा ग्याटिस सहित अन्य हतियार लिएर बन जङ्गल पस्ने र चोरी शिकारी गर्ने गरेका कारण धेरै वन्यजन्तु र पशुपंक्षी लोप हुने खतरा भएपछि संरक्षणमा जुटेको स्थानीयको भनाई छ ।