वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय लालकुमार राईले सडक बनाउन वडावासीलाई जग्गा दान दिएका छन् ।
राईले स्वर्गीय पत्नी पवित्रा लिम्बूको सम्झनामा करिब १२ लाख रुपैयाँ मूल्य पर्ने पौने २ कठ्ठा जग्गा दान दिएका हुन् । राईले जग्गा दिएपछि रमाइलो चौकस्थित उनको घर नजिकै ‘पवित्रा लिम्बू स्मृति मार्ग’ नामको सडक निर्माण भएको छ ।
उक्त सडकको शनिबार वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले उद्घाटन गरिन् । सडकको लम्बाइ करिब ७८ मिटर र चौडाइ १४ फिट रहेको जग्गादाता लालकुमार राईले बताए । सोही अवसरमा राईले ९१ वर्षीया आमा भोटिमाया राईको नाममा १ लाख १५ हजार रुपैयाँको ‘वृद्धवृद्धा सम्मान अक्षय कोष’ सञ्चालन गरिने घोषणा गरे ।
किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति साविक वराहक्षेत्रको अध्यक्षसमेत रहेका राईले यसअघि दिवङ्गत पत्नी पवित्राको नाममा चतरा अस्पतालमा २ लाख ५४ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । कार्यक्रममा राईले कोषमा छोरीज्वाइँ पुष्पा र सर्वधन राईले १० हजार ५ सय र जेठान दिलकुमार लिम्बूले १ हजार रुपैयाँ थप गरेको बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मगरले जग्गा दान दिएर बाटो खुलेपछि स्थानीयले वराह क्याम्पस र आदर्श खानेपानी कार्यालयसम्म घुमेर जानुपर्ने बाध्यता हटेकाले उल्लेखनीय समाजिक कार्य गरेको भन्दै राईको प्रशंसा गरिन् ।
कार्यक्रममा अतिथिहरू वार्ड नं २ अध्यक्ष हरिकृष्ण भट्टराई, आदर्श माविका प्राचार्य प्रल्हाद भट्टराई र चतरा अस्पतालका व्यवस्थापन निर्देशक डा. अनिल गिरीले लालकुमारले जग्गा दिएर वडावासीलाई गुन लगाएको बताए ।
राईकी पत्नी पवित्राको १ वर्ष अगाडि क्यान्सर रोगबाट निधन भएको थियो । लालकुमारकी आमा भोटिमाया राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सर्वधन राईले गरेका थिए ।