भद्रपुर । झापामा हात्तीपाइले रोगका आशङ्का गरिएका २ सय ९० बिरामी रहेका छन् । तीमध्ये १ सय ४६ जनामा हाइड्रोसिल, १ सय ४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

 यही फागुन २८ देखि आमऔषधी सेवन अभियान सञ्चालन हुदैछ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै सङ्ख्यामा स्वास्थ्य स्वयम्सेविका परिचालन हुने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधी सेवन गराउने लक्ष्य रहेको उनले बताए । उक्त सङ्ख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डीइसी औषधीको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।

एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको उनले जनाए  ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधी सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

उक्त औषधी ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन हप्ता सम्मका सुत्केरी बाहेक सबैले सेवन गर्न मिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।