पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाका दुई योजना सुस्त गतिमा अघि बढेको भन्दै समय सीमा भित्रै पूरा गर्न मन्त्रीले निर्देशन दिएका छन् । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कुम्मायकको आवशिय भवन र यासोक सखरखण्डे कालोपत्रे सडकको काम समय सीमा भित्रै पूरा गर्न निर्देशन दिएका हुन । यासोक बजारको निर्माणाधीन आवसिय भवन र यासोक सखरखण्डे यासोकको कालोपत्रे सडक अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन । 

यासोक सखरखण्डे सडकमा बजेटको कुनै अभाव भएको छैन । उनले भने स्वयम निर्माण व्यवसायी काम नगरी बेपत्ता हुँदा योजना सुस्त भएको हो । कार्यालयले पटक पटक पत्राचार गर्दा समेत कुनै जवाफ आएको थिएन । अब काम तीव्र गतिमा अघि बढाउनुपर्यो निर्माण कम्पनीका प्रतिनिधिलाई उनले भने । योजनाको काममा निर्माण व्यवसायीका पनि केही प्राविधिक समस्या छन् । सडकमा खानेपानीको पाइप व्यवस्थापन र बजार क्षेत्रको अवरोध हटाउन खानेपानी समिति र गाउँपालिकाले चासो दिनुपर्नेमा मन्त्री आङ्बोले जोड दिए ।

त्यस्तै जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा निर्माण हुँदै आएको आवसिय भवन मध्ये मिक्लाजुङको भवन पूरा भइसकेको छ । तर कुम्मायकको भवन अधुरै भएको भन्दै तत्काल योजनाको कामलाई पूरा गर्न सहरी विकास भवन कार्यालय इलाम र निर्माण व्यवसायीलाई निर्देशन दिए । निर्धारित मितिमा काम पूरा नभएपछि यही चैत्रसम्म म्याद थप गरिएको छ । थपिएको समय पूरा हुन लाग्दा समेत भवनको शौचालय, क्यान्टिन र अन्य धेरै काम बाँकी रहेको भन्दै अब म्याद थपको  प्रक्रिया झन्झटिलो हुने बताए ।

सोही क्रममा यासोक बजार कालोपत्रेको विषयमा पनि गुणस्तरीय काम नभएको भन्दै स्थानीयको आरोपछि मन्त्री आङ्बोले काम गर्ने क्रममा कहीँ कतैबाट कमी कमजोरी भएको छ भने सुधार गरेर काम गर्न सम्बन्धी कार्यालय र निर्माण व्यवसायीलाई सजक समेत गराए । अनुगमनमा सहरी विकास भवन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रm, गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, यासोक सखरखण्डे सडकका निर्माण व्यवसायी लगायत सरोकारवाला नागरिकको सहभागिता रहेको थियो ।