धरान । प्रदेश १ को नामकरणको बहस चलिरहेका बेला शेर्पा समुदायले पनि प्रदेशको नाममा ‘शेर्पा’ समेट्न माग गरेको छ ।
बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर नेपाल शेर्पा सङ्घले प्रदेश १ को नामकरण गर्दा शेर्पा समुदायलाई समेत सम्बोधन गरी शेर्पा–किरात–लिम्बुवान–मधेश राख्न माग गर्दै ज्ञापन–पत्र बुझाएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष तथा शेर्पालुङ सङ्घर्ष समिति संयोजक गेल्जे लामा शेर्पासहित सल्लाहकार आङ्काजी शेर्पा, सङ्घीय सदस्य तेन्जी शेर्पा, एपि शेर्पा, प्रदेश अध्यक्ष ङावालप्टु लामा शेर्पासहित प्रदेश १ मा रहेका जिल्ला अध्यक्षसहितको समूहले ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्रमा शेर्पा समुदायको पहिचानका आधारमा ऐतिहासिक प्रथम संविधानसभा राज्य पुनर्संरचना समितिद्वारा प्रस्तावित १४ प्रदेशमा शेर्पालुङ (शेर्पा प्रदेश) समावेश भएको स्मरण गराउँदै नामकरणमा नछुटाउन माग गरिएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा सोलुखुम्बुको सल्लेरीमा शेर्पालुङ (शेर्पा प्रदेश) घोषणा भएको तर, राज्य पुनर्संरचनाको क्रममा शेर्पा समुदायको ऐतिहासिक पुख्र्यौली थातथलोलाई प्रदेश नम्बर १ र बागमती प्रदेशमा खण्डित गरिएकोमा असहमति प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
२०६२/०६३ को जनआन्दोलन, १० वर्षे माओवादी ‘जनयुद्ध’, आदिवासी जनजाति र मधेशीहरूको आन्दोलनको क्रममा नेपाल सरकारले हस्ताक्षर गरेको सहमति र सम्झौताका साथै प्रथम, दोस्रो संविधानसभा र स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले नेपालमा विद्यमान जातीय, लैङ्गिक, क्षेत्रीय र वर्गीय विभेद अन्त्य गरेर समतामूलक नेपाल निर्माणको प्रतिबद्धता जनाएकोले पनि प्रदेशको नामकरणमा शेर्पा समुदाय छुट्न नहुने उल्लेख गरिएको छ ।
ज्ञापन–पत्र बुझ्दै मुख्यमन्त्री राईले आफू पहिचानको पक्षमा रहेको बताएका छन् । उनले यही फागुन १५ गतेदेखि संसद् सुचारु हुने भन्दै सकेसम्म यही हिउँदे अधिवेशनबाट नामकरण टुङ्गो लगाउने बताए ।
प्रदेश नामकरण छलफल संयोजक तथा स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा राख्ने ढोका प्रदेश नम्बर २ बाट खुलेको बताए । ज्ञापन–पत्र बुझाउन शेर्पा समुदायका करिब १ सय ५० जना उपस्थित थिए ।