धरान/ स्थानीय तहको निर्वाचनअघि लालपुर्जा नपाए सुकुम्बासीहरूले उधारोमा भोट नहाल्ने भएका छन् ।
हरेक निर्वाचनमा भोट बैङ्क बनाउँदै सुकुम्बासीसँग भोट लिए पनि अब चाहिँ उधारोमा भोट नहाल्ने नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताए ।
‘नो लालपुर्जा, नो भोट’ अभियान चलाउँदै उधारोमा भोट नहाल्ने उनले बताए । सुकुम्बासीको साझा संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले बुधबार सुन्दरहरैंचा नगरपालिकामा बृहत् प्रदर्शन गर्दै पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सुकुम्बासीहरूले नगर प्रमुख शिव ढकाललाई गेटमै बोलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । केन्द्रीय अध्यक्ष कार्की र नगर अध्यक्ष सालिकराम विकले ध्यानाकर्षण पत्र बुझाउँदै लालपुर्जा वितरण नगरिए अब भोट बैङ्क मात्रै नबन्ने चेतावनी दिए ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ढकालले निर्वाचन अघि नै लालपुर्जा दिने तयारी रहेको बताए । उनले भने, ‘तपाईंहरू ढुक्क भएर जानुस्, अब उधारोमा भोट माग्ने स्थिति आउँदैन ।’ समाजले देशका १५ जिल्लामा अभियान सम्पन्न गरिसकेको थियो ।
फागुनभित्र सबै जिल्लामा अभियान सम्पन्न गरी सुकुम्बासीलाई ‘नो लालपुर्जा, नो भोट’ भन्दै अभियान चलाइरहेको बताए । उनले सुकुम्बासीमुक्त राष्ट्र निर्माण गर्नका लागि सबै पक्षलाई आग्रह गरे ।