सुनसरी । कोसी गाउँपालिका–३ पश्चिम कुसाहास्थित पर्ती टोलकी गीता उराँवलाई अचेल फुर्सद छैन ।

बिहान ६ बजे उठ्ने गीता घरको कामकाज सिध्याउँदै ठीक १० बजे सिलाइ–कटाइ तालिममा जान्छिन् । अहिले गीताजस्ता यहाँका दुई दर्जन महिलाहरूलाई उक्त तालिमले भ्याई नभ्याई छ । कोसी गाउँपालिकाको आयोजनामा लघु उद्यम सिर्जना तथा विकासको लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नतिको लागि ४५ दिने सिलाइ–कटाइसम्बन्धी तालिम सुरु भएको एक हप्ता भयो । तालिम सुरु भएदेखि १० नबज्दै सिक्न आउने दिदीबहिनीहरूको तँछाड र मछाड छ कोसी गाउँकार्यपालिका सदस्य सरिता  मण्डलले भनिन्, ‘सीप सिकेर पैसाको समेत बचत हुने भएकाले महिला दिदीबहिनीहरू सिलाइ–कटाइ तालिमतर्फ आकर्षित भएका छन् ।’

कोसी गाउँपालिकाको आयोजनामा लघुउद्यम सिर्जना तथा विकासको लागि गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत ४५ दिने सिलाइ कटाइ तालिम भइरहेको छ भने महिलाहरूलाई लक्षित गरेर कोसी गाउँपालिका वडानम्बर ४ मा दुई दिने तरकारी खेती तालिम, वडानम्बर ७ स्थित हरिपुर क्षेत्रका महिलाहरूलाई दालमोठ, भुजिया बनाउने तालिम, वडानम्बर ३ मा माछा उत्पादक कृषक समूहका लागि माछा उत्पादन तथा बजारीकरणसम्बन्धी तालिम सम्पन्न गरिएको गाउँपालिकाका फोकल पर्सन तथा आर्थिक एवम् सामाजिक शाखा प्रमुख नायव सुब्बा राजकिशोर मेहताले जानकारी दिए । ग्रामीण क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिँदै आएको बताउँदै उनले विभिन्न तालिमपश्चात् दर्जनौं महिला स्वरोजगार बन्न सफल भएको बताए ।

केही महिना अगाडिसम्म आफूलाई आवश्यक पर्ने २–४ सय रुपैयाँँका लागि श्रीमान्को भर पर्ने कोसी गाउँपालिका–७ हरिपुरकी अनिता सदाले अहिले कसैसँग हात थाप्नु परेको छैन । गाउँमै व्यावसायिक रूपमा दालमोठ, भुजिया बनाउन थालेपछि आजभोलि उनले श्रीमान्लाई पैसा दिने गरेकी छन् ।

inaruwa123

कोसी गाउँपालिकाले दुई दिने तालिम दिएपछि अनिताले दालमोठ, भुजिया बिक्रीबाट गरेको आम्दानीबाट घरपरिवार चलाउन सहयोगमात्रै गरेकी छैनन्, बचतसमेत गर्दै आएकी छन् । ‘श्रीमान् बेरोजगार हुँदा पहिला घरपरिवार चलाउन निकै समस्या हुने गथ्र्यो, सोही कारण हामीबीच दिनहुँजसो झगडा हुन्थ्यो’ हरिपुरकी अर्की स्थानीय लीला सदाले भनिन्, ‘तर, आजभोलि दुवैजना कमाउन थालेपछि परिवार चलाउन सहज भएको छ ।’

त्यसैगरी आफ्नै पहल र प्रयासमा तरकारी खेती गर्दै आएकी कोसी गाउँपालिका–४ गल्फरियाकी सुमित्रा मेहतालाई कोसी गाउँपालिकाको कार्यालयले दुई दिने तरकारी उत्पादनसम्बन्धी तालिम दिएपछि निकै सहयोग पुगेको उनी बताउँछिन् ।

‘व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीवनस्तर उकास्ने योजना बनाएका आफूजस्ता २५ जना महिला दिदीबहिनीहरूको लागि तालिम उपयोगी सावित भएको छ’ लाली गुराँस लघुउद्यमी महिला समूह कोसी गाउँपालिका–४ की अध्यक्षसमेत रहेकी मेहताले अगाडि भनिन्, ‘अग्र्यानिक हिसाबले तरकारी खेती कसरी गर्ने, उत्पादन कसरी बढाउने, उत्पादित तरकारी बालीलाई कसरी बजारसम्म पुर्याउनेलगायतका उपायबारे हामीले जानकारी प्राप्त गर्यौं । पहिला तरकारी खेती गरेपनि मेहनतअनुसार उत्पादन हुँदैनथ्यो तर, अब अग्र्यानिक हिसाबले तरकारी खेती सुरुवात गरेका छौं ।’

कोसी गाउँपालिकाले महिला दिदीबहिनीहरूलाई लक्षित गर्दै कार्यक्रम गरेकाले विभिन्न तालिमपश्चात् उनीहरू आत्मनिर्भर बन्न सफल भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । तालिमले महिलाहरूलाई स्वरोजगार बन्न सहयोग पुर्याउनुका साथै त्यसबाट प्राप्त आम्दानीले घरपरिवार चलाउन र सहकारी संस्थामा पैसा बचत गर्न सफल भएको उनको भनाइ छ ।

विभिन्न तालिमपश्चात् सक्रिय महिलाहरूलाई मेसिनरी सामग्री वितरण, मल, उन्नत जातका बिउलगायत प्राविधिक सहयोग गर्दै आएको अध्यक्ष अन्सारीले जानकारी दिए ।