विजयपुर । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न खोज्ने भूमाफियाविरुद्ध जागरण जुलुस निकालिएको छ ।

आइतबार क्याम्पसको जग्गा बचाउ समितिको आयोजनामा जागरण जुलुस निकालिएको हो । भूमाफियाविरुद्धको जागरण जुलुसमा पूर्व क्याम्पस प्रमुख, प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दल, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।

विभिन्न प्ले–कार्डसहित नाराजुलुस क्याम्पसपरिसरबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, पुरानो बजार, माछाभौडी, देशीलाइन हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जग्गा बचाउ समितिका संयोजक कुमारबहादुर कार्कीले ४५ वर्षपछि तथाकथित मोही खडा गरेर क्याम्पसको उन्नति, प्रगतिमा बाधा पुर्याउन मोही हकदाबी गरेको बताए । उनले धराने जनताहरूले भूमाफिया र जग्गा दलालहरूको योजनालाई असफल बनाउने बताउँदै एकताबद्ध भएर लाग्न पनि आह्वान गरे ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले स्थानीय सरकार सञ्चालन ऐनलाई

टेकेर सार्वजनिक सम्पत्ति, जग्गाहरू संरक्षण गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न नसकेको बताए । धरानमा सार्वजनिक जग्गाहरू मठ मन्दिर र शैक्षिक सङ्घ–संस्थाका जग्गा भूमाफियाले हडप्ने प्रयास गरिरहेको बताए । उनले भूमाफियाले गलत ठाउँमा गिद्दे नजर लगाएको बताए ।

julus-(2)

जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुब लिम्बूले नेतृत्वको कमजोरीले क्याम्पसको जग्गा हडप्न खोजेको बताए । उनले नक्कली मोही खडा गरेर जग्गा हडप्ने दिवा सपना देख्नेहरूको सपना पूरा हुन नदिने बताए ।

नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेलले तत्कालीन स्थानीय सरकार प्रमुख र वडाध्यक्षले सिफारिस दिने काम गरेपछि नै क्याम्पसको जग्गामा आँखा गाड्ने काम भएको बताए ।

उनले राजनीतिक, प्रशासनिक साँठगाँठको कारण क्याम्पसको जग्गा हडपिने अवस्था भएको दाबी गरे । उनले भने, ‘तत्कालीन धरान उपमहानगर कार्यवाहक प्रामुख, वडाध्यक्षदेखि सिंहदरबारसम्म सेटिङ छ । धरानका नकावधारी भूमाफियाविरुद्ध नेपाली काङ्ग्रेस अगाडि बढ्छ ।’

क्याम्पसले २०३४ सालमा धरान–११ स्थित स्वस्तिक चोकको कित्ता नम्बर २६६ को १७ कठ्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको श्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । श्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भूमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा हडप्न लागिपरेको समितिको आरोप छ ।

मोही घिमिरेको २०५६ सालमा नै निधन भएको थियो । उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पतीको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध क्याम्पस प्रशासनले पुस १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदनसमेत गरेको छ ।