विराटनगर । विराटनगरस्थित कोसी अस्पतालले खेर गएको फोहोरबाट वायो ग्यास उत्पादन सुरु गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले वायोग्यास उत्पादन सुरु गरेको हो ।

अस्पताल परिसरभित्र व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले वायोग्यास उत्पादन सुरु गरिएको अस्पतालकी फोहोर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहोर खाना, गर्भवती महिलाले बच्चा जन्माउँदा निस्किने सालनाललगायतका फोहोरहरू प्रशोधन गरेर वायोग्यास उत्पादन सुरु गरिएको उनले बताइन् ।

‘अस्पतालबाट दैनिकजसो निस्किने फोहरजन्य वस्तुहरू जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोरहरू भण्डारण गरी राख्ने गरिएको छ । फोहोरबाट अहिले वायोग्यास बनाउन सुरु गरिएको छ’–संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टिको खाली जमिनमा वायो ग्यास प्लान्ट निर्माण गरिएको छ ।

अस्पतालबाट निस्किने फोहर प्रशोधन गरिने आउटलेट ६ घनमिटर क्षमताको बनाएको छ । ‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहोर इन्लेटमा राखेर वायोग्यासको लागि प्रशोधन गर्ने ठाउँमा पठाइने गरेको छ’–उनले भनिन् । अस्पतालले निकालेको वायोग्यासबाट उपकरण र औजारहरूको निर्मलीकरण गरिने तयारी सुरु गरिएको उनले बताइन् ।

‘वायोग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीहरूले बिरामीलाई प्रयोग गर्ने औजारहरूको निर्मलीकरण यही वायोग्यासबाट गर्ने हामीले तयारी गरेका छौं’ उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ एक महिनाभित्रमा फोहर प्रशोधन गरेर ल्याएको वायोग्यास प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरी उपकरणहरूको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरू पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । वायोग्यास प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहर बाहिर लैजान वा फाल्न दिएको छैन’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गरि वायोग्यास उत्पादन गर्न सुरु गरेका छौं ।’ निटक भविष्यमा थप विस्तार गर्दै अगाडि बढ्ने उनले बताए ।