पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा रहेको एक मात्र खेलमैदान फिदिम खेलमैदानको पुनर्निर्माण कार्य सम्पन्न नहुँदा प्रतियोगिता, नियमित प्रशिक्षण र खेलाडीले गर्ने अभ्यास प्रभावित बनेको छ ।

खेलमैदानलाई घाँसे मैदानको रूपमा विकसित गर्ने कार्य भइरहेकै अवस्थामा एकातिरको पर्खाल भत्किएको थियो । त्यसपछि लथालिङ्ग बनेको खेलमैदानको पुनर्निर्माण कार्य २०७७ माघदेखि सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्को १० करोड ६३ लाख लागतमा किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनीले खेलमैदानको पुनर्निर्माणको काम सुरु गरेको थियो ।

तर, भुक्तानी नपाएको भन्दै पुनर्निर्माणको जिम्मा पाएको कम्पनीले काम छाडेको छ । गरिसकेको कामको करिब दुई करोड रकम भुक्तानी नपाएको र कम्पनीको उठिबास हुने अवस्था आएको निर्माण कम्पनीको भनाइ छ । पुनर्निर्माण कार्यको अनुगमन गर्ने निकाय जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तिदेवी राईले भने कमसल निर्माण सामग्रीको प्रयोग भएको भन्दै अख्तियारमा उजुरी परेपछि निर्माण कार्य रोकिएको बताइन् ।

सम्झौताअनुसार आगामी असारसम्ममा पुनर्निर्माणको काम सक्नुपर्ने भए पनि सकिने अवस्था छैन । अझ गरेको कामको भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम नै छाडेपछि फिदिम खेलमैदानको पुनर्निर्माण कार्य अन्योल बनेको सरोकारवाला बताउँछन् । प्रशासन कक्ष, खेलाडीको चेञ्जिङ रुम, प्याराफिट, शौचालय लगायतका संरचनासहित खेलमैदान पुनर्निर्माणको काम सुरु गरिएको थियो ।

खेलमैदान नबन्दा जिल्लाकै सर्वाधिक आकर्षक फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप दुई वर्षदेखि सञ्चालन हुन सकेका छैनन् । पुनर्निर्माण कार्य चाँडै सम्पन्न गर्न समन्वय गरिरहेको जिल्ला फुटबल सङ्घका सदस्य दीपेन्द्र थापा मगरले बताए । खेलमैदान नबन्दा नियमित प्रशिक्षण प्रभावित बनेको उनको भनाइ छ । त्यस्तै खेलाडीले नियमित गर्ने अभ्याससमेत गर्न नपाएको फिदिम स्पोर्टिङ क्लबका कप्तान नरेश सम्बाहाम्फेले बताए ।

फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको रेखदेख र संरक्षणको काम जिल्ला फुटबल सङ्घ र फिदिम स्पोर्टिङ क्लबले गर्दै आएका छन् । खेलमैदानको पुनर्निर्माण कार्य चाँडै सम्पन्न गरी फुटबललगायत खेलकुदका गतिविधि नियमित हुनुपर्ने जिल्लास्थित सरोकारवाला र फुटबलप्रेमीले माग गरेका छन् ।