धरान । धरानमा जारी २२ औं टुबोर्ग गोधुली रनिङ कपमा धरान–८, १५, ११ र १९ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

कोरोना महामारीको तेस्रो लहर सुरु भएयता खेल अवधि छोट्याइएका कारण बुधबार सम्पन्न चार खेलमा धरान–८ ले ९ लाई ३–० गोलले हराएको छ । खेलमा आमेद माझीले दुई गोल गर्दा सविन राना मगरले एक गोल गरे । खेलको म्यान अफ दी म्याच धरान–८ का मदन लाबुङ घोषित हुँदै नगद १५ सय रुपैयाँ पाए ।

त्यस्तै दोस्रो खेलमा धरान–१५ ले १० नम्बर वडालाई २–० गोलले हराएको छ ।खेलमा सुवास मगर र सुगम जिमीले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच सुगम जिमी घोषित हुँदै नगद १५ सय पाए । तेस्रो खेलमा धरान–११ ले धरान–१७ लाई २–१ गोलले हराएको छ । खेलमा रिवस मास्के र दावा शेर्पाले गोल गरे ।

यता सान्त्वना गोल १७ बाट नगेन्द्र विकले गरे । खेलमा धरान–११ का गोलरक्षक प्रदीप जिमी म्यान अफ दी म्याच बन्दै नगद १५ सय रुपैयाँ पाए । अन्तिम खेलमा धरान–१९ ले २० नम्बर वडालाई ४–० गोलले हराएको छ । खेलमा इन्चन राईले २ गोल गर्दा आयाम राई र विनोद राईले एक–एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच १९ नं. वडाका विनोद रार्ई घोषित भए । आज (बिहीबार) पहिलो खेल साविक उपविजेता धरान–१६ र ७ बीच हुनेछ भने दोस्रो खेल धरान–१३ र ६ नम्बर वडाबीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

शीर्ष ८ वटा टिमले भने सुपर ८ खेल्न पाउने भएका छन् । क्लबका संस्थापक अध्यक्ष तथा धरान खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुवास राईको स्मृतिमा सुपर ८ खेलाउन लागिएको क्लबका कार्यवाहक अध्यक्ष सतिस केसीले जानकारी दिए ।