धरान/ सुनसरी जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबलको उपाधि धरान फुटबल क्लबले उचालेको छ ।

सुनसरीको इटहरी रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा धरानकै गोधुली क्लबलाई सडन डेथमा पराजित गर्दै धरान फुटबलले उपाधि जितेको हो ।

लिगको पहिलो चरणको खेलमा धरान फुटबल क्लब कमजोर प्रस्तुतिका कारण छनोट नहुने सम्भावनामा पुगेको थियो । समूहमा उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको क्लबले वराहक्षेत्रको न्यूस्टार फुटबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।

विजेता धरान फुटबल क्लबले नगद ५० हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा चित्त बुझाएको गोधुली क्लबले नगद २५ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा एन्फामा आबद्ध ८ टिमले भिडन्त गरेका थिए ।

निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा पहिलो ५–५ जनाको प्रहारमा बराबरी गोल भएपछि सडन डेथबाट निर्णय लिइएको थियो ।

सडन डेथमा गोधुलीका निमा शेर्पाको प्रहार बाहिरिँदा धरान फुटबल क्लबका सुवेश राईले पोष्टको दिशा दिए । खेलको म्यान अफ दी म्याच गोधुलीका सविन राई घोषित भए ।

यता विधागत पुरस्कारतर्फ धरान फुटबलका कप्तान रिवश मास्के उत्कृष्ट खेलाडी हुँदै नगद ५ हजार रुपैयाँ पाए । धरान फुटबलका राजीव खड्का उत्कृष्ट गोलरक्षक र सागर घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ नगद ३ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।