विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा कान्तिपुर र ग्रिनल्याण्ड विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा शनिबार भएको खेलमा कान्तिपुर कलेज  र ग्रिनल्याण्ड कलेज विजयी भएका हुन् । पहिलो खेलमा कान्तिपुरले मेरील्याण्डलाई ८ विकेटले पराजित गर्दै क्वार्टर फाइनलमा  तथा दोस्रो खेलमा ग्रिनल्याण्डले कोबास कलेजलाई ८७ रनको फराकिलो रनअन्तरले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरील्याण्डले निर्धारित १५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ६ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । जसमा मिकीहाङ तुम्रोकले २३ रन, मिथलेश पोद्दारले १४ रन र यमेश साहले १३ रनको योगदान दिएका थिए । कान्तिपुरका सुमन यादवले ३ विकेट र पप्पु मण्डलले २ विकेट लिए ।

जवाफमा १ सय ७ रनको चुनौती पछ्याएको कान्तिपुरले २ बल बाँकी रहेको अवस्थामा २ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । कान्तिपुरका लागि म्यान अफ दी म्याच पप्पु यादवले अविजित ३७ रनको योगदान दिँदा भोला सेठले अविजित २४ रन र नवराज सङ्ग्रौलाले २० रनको योगदान गरे । मेरील्याण्डका रोहित पोद्दार र अभर मण्डलले २–२ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३९ रनको विशाल स्कोर खडा गरेको थियो । जसमा अनिल यादवले २६ रन बनाउँदा दीपक विकले अविजित २३ रन र रञ्जित यादवले १९ रनको योगदान दिए । कोबासका रितिषराज कार्की र सन्दीप दासले १–१ विकेट लिए ।

जवाफमा १ सय ४० रनको विशाल लक्ष्य पछ्याएको कोबासले अनिल यादव र दीपेश कामतको घातक बलिङसामु घुँडा टेक्दै सबै विकेट गुमाउँदै ९ ओभरमा ५२ मा रनमा सीमित भयो । जसमा दीपेश मण्डलले १२ रनबाहेक अरूले दोहोरो अङ्क जोड्न सकेनन् । ग्रिनल्याण्डका म्यान अफ दी म्याच अनिल यादवले ४ विकेट र दीपेन कामतले ३ विकेट लिए ।

पुष ३० गतेसम्म हुने प्रतियोगितामा हिसानमा आबद्ध जिल्लाका १३ वटा कलेजका १ सय ९५ खेलाडी सहभागी हुने अध्यक्ष राजेश कार्कीले जानकारी दिए । हिसानमा आबद्ध कलेजका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराउँदै उत्कृष्ट खेलाडी र कुशल समाज निर्माण गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरेको अध्यक्ष कार्कीले बताए ।

प्रतियोगिता आयोजना गर्न करिब ४ लाख खर्च हुने अध्यक्ष कार्कीले बताए । आज (आइतबार)को पहिलो खेल शिक्षदीप कलेज र अर्किड कलेज र दोस्रो खेल लर्डबुद्ध कलेज र नेशनल कलेजबीच हुनेछ ।

cricket123