धरान । नेपाली साङ्गीतिक बजारमा उदाउँदै आएको अर्को नाम हो, गायक एकदेव लिम्बू । एकदेवले आफ्नो दोस्रो गीतको रूपमा प्रस्तुत गरेको ‘म गाउँछु’ गीत एकाएक चर्चामा आएको थियो । २०६९ सालमा ‘हिँड्दै छु म’ गीतबाट डेब्यु गरेका एकदेव अहिले आएर युवापुस्तामाझ निकै चर्चित बन्न सफल भएका छन् । 

गतवर्ष आएको शिरफूल–२ गीतले उनको सफलतामा नयाँ उचाइ थपेको थियो । त्यसलगत्तै उनले रिलिज गरेको ‘आँखामा आउने सपनी’ ले उनको सफलतामा अर्को आयाम थप्न सफल भएसँगै अहिले उनी एक्लै कन्सर्ट धान्न सक्ने व्यस्त गायक भइसकेका छन् ।

उनले रिलिज गरेका प्रत्येक गीत अहिले युट्युबमा लाखौं अग्र्यानिक भ्युज पाउन सफल भएका छन् । एक महिना अगाडिमात्र उनले रिलिज गरेको ब्ल्याक एन्ड ह्वाइट बोलको गीत पनि अहिले चर्चामा छ । 

पूर्वी नेपालको सुन्दर सहर इलाममा जन्मिएका एकदेव हाल काठमाडौंमा बस्दै आएका छन् । अध्ययनका लागि राजधानी पुगेका लिम्बू साथीभाइ र परिवारको हौसलाले सङ्गीत क्षेत्रमा प्रवेश गरेको बताउँछन् । अहिलेकी चर्चित गायिका सुनिता थेगिमका आफ्नै दाजु एकदेव नाच्नमा पनि उत्तिकै कुशल छन् ।

यसै साता पुस २४ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने कन्सर्ट ‘नेपालआइस मनोरञ्जन धमाका’ को लागि उनी धरान आउँदैछन् । नेपालका विभिन्न गाउँ–सहरको कार्यक्रममा आफ्नो प्रस्तुति दिएर वाहवाही बटुलिसकेका गायक  एकदेवको धरानको कार्यक्रम भने पहिलो हो ।

धरानमा कार्यक्रम गर्ने ठूलो धोको रहेकोमा पहिलोपल्ट नै ठूलो कन्सर्टमा आउन पाउँदा एकदमै उत्साहित रहेको एकदेव बताउँछन् । धरानका आफ्ना शुभचिन्तकहरू माझ गीतहरू प्रस्तुत गर्न आफू आतुर रहेको र अलिअलि ‘नर्भस’ रहेको बताउँदै सबैलाई कार्यक्रममा आएर सँगै रमाइलो गर्न अनुरोध गरेका छन । ‘धरानको कार्यक्रमबारे धेरै सुनेको छु, अब शनिबार प्रत्यक्ष  अनुभव लिनेछु’ उनी भन्छन्, ‘धरानका दर्शकहरूलाई निराश पार्दिनँ ।’